सामान्य परीक्षणसमेत नगरी “नमस्ते पे” सेवा

काठमाडौं, १ असोज । नेपाल टेलिकमले मंगलबार ‘नमस्ते पे’ मोबाइल वालेट सार्वजनिक गर्‍यो । यूसएसएसडी कोड र इन्टरनेटमा आधारित पहिलो ‘वालेट’ भएकाले प्रयोगकर्ता उत्साहित थिए, तर पहिलो गाँसमै दाँतमा ढुंगा लाग्यो ।

‘नमस्ते पे’को अफिसियल सामाजिक सञ्जालको पेजमा प्रयोगकर्ताले एप डाउनलोड गर्न नमिलेको, डाउनलोड भएपनि नखुलेको, भुक्तानी गर्ने अप्सन नभेटेको जस्ता गुनासो गरेका छन् ।

केही ब्यक्तिहरुले ‘एप डाउनलोड’ गर्न खोज्दा ‘गुगल प्ले स्टोर’ले ‘यो एप तपाईंको देशमा प्रयोगका लागि उपलब्ध छैन’ भनेको उल्लेख गरेका छन् ।

एपले काम नगरेर रजिस्ट्रर गर्न नसकेका ऋषिराज भेटवालले सञ्जालमा लेखेका छन्, ‘पूर्व तयारी विना लन्च गरेको देखिन्छ । हात्ती आयो फुस्सा ।’ ‘नमस्ते पे’मा अनेक समस्या झेलेपछि रुपनारायण ढकालले लेखेका छन्, ‘लक्षण राम्रो देखिएन । युजर फ्रेन्डलीको मान्यता पुरै नकारेको जस्तो भयो । ठूला संस्थाको फन्डिङमा भ्रष्टाचारको अर्को अखडा बन्ने डर भयो । टर्चरको अर्को नाम नमस्ते पे नबनोस्, सुधार गरौं ।’

टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ४० करोड रुपैयाँ चुक्ता पुँजी भएको सब्सिडरी कम्पनी ‘नेपाल पेमेन्ट कम्पनी’ नै खोलेर ‘नमस्ते–पे’ ल्याएको थियो ।

टेलिकमले ठूलो लगानीमा ल्याएको एप भएकाले यसमा विशिष्ट खालका सेवा हुने अपेक्षा थियो । तर सबै तयारी नसकी, सामान्य परीक्षणसमेत नगरी सेवा थालेको पाइएको छ ।

नमस्ते पेबाट अर्को वालेटमा रकम पठाउने, क्यूआर कोड पेमेन्ट गर्नेलगायत सुविधा छन् । बैंकबाट वालेटमा रकम जम्मा गर्न सकिने सुविधा केही बैंकका ग्राहकमा सीमित छ । नमस्ते पेमा अधिकांश बैंक ‘कनेक्ट’ हुनै बाँकी रहेको टेलिकमले जनाएको छ । अर्थात्, सबै तयारी नगरी वालेट सार्वजनिक गरियो ।

विगतमा नेपाल टेलिकमका धेरै सेवा बिजनेस मोडल नै विकास नगरी निश्चित समूहको स्वार्थ पूर्तिका लागि आएको नेपाल दूरसञ्चार प्राधिकरणमा वरिष्ठ निर्देशक रहिसकेका सूचना प्रविधिविज्ञ आनन्दराज खनालको मुल्यांकन छ ।

मोबाइल वालेटको सुरक्षा, विश्वसनीयता र सेवा प्रवाह बढी सम्वेदनशील हुने भएकाले सेवा प्रदायक यसमा चुके बिजनेस मोडल भएपनि असफल हुने खनाल बताउँछन् ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कायम परम्परागत सोच र कार्यशैली यो वालेट सञ्चालन र व्यवस्थापनमा देखिन लागेको बताउँदै उनले भने, ‘मोबाइल वालेट भनेको रियल टाइम कारोबारका लागि हो भन्ने बुझेर काम गरे मात्र यो प्रोजेक्ट सफल हुन्छ ।’

डिजिटल भुक्तानीमा एक सेकेन्डको पनि महत्व हुने भएकाले बढी सम्वेदनशील भएर सेवा दिनुपर्ने खनाल बताउँछन् । तर टेलिकमले विगतमा ल्याएका प्रविधि र सेवा जस्तैगरी नमस्ते पे पनि निष्प्रभावी हुने त होइन भन्ने आशंका छ ।

बेकामे भए ‘मिट’ र ‘वाइम्याक्स’

नेपाल टेलिकमले ४ माघ २०७२ मा आफ्नै सामाजिक सञ्जाल सार्वजनिक गरेको थियो । टेलिकमले आफ्ना सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउने भन्दै युनिफाइड कम्युनिकेसन सिस्टम ९यूसीएस०को अवधारणामा ‘मिट’ शुरु गरेको थियो । यो एपका लागि १० करोड २० लाख २४ हजार रुपैयाँ खर्चिएको थियो ।

तर सबै तयारी नसकी सार्वजनिक भएको ‘मिट’ नामको सामाजिक सञ्जाल बेकामको साबित भयो । अहिले यो अपवादबाहेक कसैले पनि प्रयोग गर्दैनन् ।

टेलिकमले फोरजीकै गतिमा चल्ने इन्टरनेट सेवा भन्दै २०६९ कात्तिक २७ गते थालेको ‘वाइम्याक्स’ पनि असफल भयो । ३० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग हुने २३०० ब्यान्डको वाइम्याक्स प्रविधिका चार वर्षमै असफल भयो । इन्टरनेटका लागि मात्र प्रयोग हुने यो प्रविधिको जडान खर्च महंगो भएकाले सबैको पहुँचमा पुग्न सकेन । टेलिकमले बजार प्रवर्द्धनमा पनि त्यति वास्ता गरेन ।

२०७३ चैतमा असफलताको प्राविधिक विश्लेषण समेत नगरी ‘वाइम्याक्स’ मा लगानी नथप्ने निर्णय लियो । नेपालमा २३०० ब्याण्डमा वाइम्याक्स असफल भएका बेला भारतमा भने त्यही ब्याण्डमा रिलायन्स जियोले फोरजी सेवामा ठूलो प्रभाव छाडेको थियो । त्यही ब्याण्ड र त्यो भन्दा ठूलो फ्रीक्वेन्सी पाएर पनि वाइम्याक्सलाई ग्राहकसम्म पुर्‍याउन चुक्यो ।

टेलिकमले २०७४ सालमै वाइम्याक्सलाई विस्थापित गर्ने गरी फोरजी र ‘फाइबर टु दि होम’ (एफटीटीएच) सेवा सुरु गर्‍यो । फोरजीमा मात्र टेलिकमले १९ अर्ब रुपैयाँ लगानी गर्‍यो ।

अहिले फोरजी र एफटीटीएच दुबैमा निजी सेवा प्रदायकभन्दा पछाडि छ । टेलिकमको फोरजी ग्राहक करिब ४८ लाख छन् भने एनसेलको ५१ लाख हाराहारी । त्यस्तै, टेलिकमको एफटीटीएच प्रयोगकर्ता ६ लाख हुँदा निजी सेवा प्रदायकहरुले ६५ लाख पुर्‍याएका छन् ।

दुबै खालका सेवाको गुणस्तरमा पनि टेलिकमभन्दा निजी सेवा प्रदायकहरु अब्बल ठहरिँदै आएका छन् । सूचना प्रविधिविज्ञ आनन्दराज खनाल टेलिकमले राम्रो बिजनेस मोडल नबनाई काम गरेर थुप्रै असफलता भोगेको बताउँछन् ।

‘नमस्ते पेले पनि मोबाइल वालेटका रुपमा गज्जबको सेवा दिएर ग्राहक बटुल्छ भनेर विश्वस्त हुन सकिने आधार देखिएन,’ प्रविधिविज्ञ खनाल भन्छन्, ‘यो काममा सफल नभए टेलिकमको ओर्लिंदो साख थप खस्किनेछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति