काठमाडौं, ३१ भदौ । म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर नेपाल बसिरहेका रोहिंग्या मुस्लिमको संख्या बढेको छ । म्यानमारबाट भागेर बंगलादेशमा शरण लिएका रोहिंग्या समुदायका मुस्लिमहरू शरणार्थी बन्न पाइने लालसामा पैसा तिरेर नेपाल भित्रिन थालेका छन् । पछिल्लो समय दलालको प्रलोभनमा परेर उनीहरूले प्रतिव्यक्ति बंगलादेशी रुपैयाँ ५० हजार टाका तिरेर नेपाल प्रवेश गर्न थालेका हुन् ।
खुला सीमाका कारण पुर्वी नेपालको काकडभिट्टा र जोगबनी नाकाबाट निर्वाध रूपमा रोहिंग्याहरू प्रवेश गर्ने गरिरहेका छन् । कोभिड(१९ को महामारीमा पनि भारत र बंगलादेशको रोहिंग्या शरणार्थी बसेको शिविरमा दलालहरू जाने गरेका छन् । नेपाल जान पाएमा शरणार्थी बन्न राम्रो सेवा-सुविधा प्राप्त गर्न सक्ने प्रलोभन दिलाउने गरेका छन् । सातामा १५ जनाको संख्यामा रोहिंग्याहरू भित्रिन थालेका छन् ।
नेपालमा जान पाएमा विभिन्न मुलुक अमेरिका , क्यानडा र अष्ट्रेलिया जस्ता मुलुक जान पाउने आश्वासन पाएकाले उनीहरू भारी रकम तिरी नेपाल छिर्ने गरेका छन् । उनीहरूलाई भारत, बंगलादेश र नेपालमै शरण लिएर बसिरहेका रोहिंग्या समुदायका मानिसहरू ल्याउन संलग्न छन् । नेपालमा राष्ट्र संघीय शरणार्थी उच्चायोगको कार्यालय रहेका कारण दलालहरुले त्यस्तो आश्वासन दिएका हुन् ।
एक रोहिंग्या शरणार्थीका अनुसार अहिले दलालको काम गरिरहेका स्वदुला आमिन तीन वर्ष लसुनटारमै बसेका थिए । अहिले प्रेम विवादले भारत फर्किए पनि उनी उतै मोटो रकम लिएर रोहिंग्या नेपाल छिराउने काममा सक्रिय छन् । ती शरणार्थीले स्वदुलाले मात्रै सन् २०२२ भित्रमा ११ सय थप रोहिंग्या नेपाल ल्याउने योजना सुनाएको बताए ।
संगठित मानव तस्करको गिरोहको पासोमा परेर बंगलादेशबाट रोहिंग्या शरणार्थीहरू नेपाल भित्रिरहँदा पनि सरकारी निकायलाई भने यसबारे पत्तो छैन । ‘रोहिंग्यालगायत शरणार्थी अन्तर्राष्ट्रिय नाकाबाट भित्रिन नदिन नेपाल प्रहरीलाई सुरक्षा व्यवस्था कडा गर्न निर्देशन छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘तर के कति रोहिंग्या भित्रिए र कसरी भित्रिन्छन् भन्ने जानकारी छैन । भित्रिसकेका शरणार्थीलाई फर्काउन सजिलो छैन ।’
काठमाडौँमा प्रवेश गरिसकेपछि रोहिंग्यालाई व्यवस्थापन गर्न तीन जना दलालहरू सक्रिय रहेको कपनमा शरण लिइरहेका जाहिद आलमले जानकारी दिए ।उनकाअनुसार एक बंगलादेशी र दुई जना रोहिंग्या छन् । बंगाली नागरिक आजमौद कालीमाटीमा व्यापार गरेर बस्छन् । दुई जना रोहिंग्या युवा सफीक आलम र मुबारक हुसेन आफ्ना समुदायका मानिसलाई सहयोग गर्नका लागि काठमाडौँमा सक्रिय रूपमा लागेका छन् ।
भारतबाट नेपाल छिराउन पनि तीनै जना दलाल सक्रिय छन् । बंगलादेशी नागरिक हृदय, रोहिंग्या मुस्लिम समुदायका मौलाना जुबेर र अर्का नुरुल अमीन भने अहिले बौद्ध प्रहरी वृत्तमा हिरासतमा छन् । अमीनका अन्य सहयोगी पाँच जना सहयोगी भने फरार छन् । नेपाल प्रवेश गरेपछि काठमाडौँमा रहेका उनीहरूकै सहयोगीले व्यवस्थापन गर्ने गरेका छन् । उनीहरूले बालाजु र कालीमाटीमा अस्थायी बसोबास गर्न प्रबन्ध गरिरहेका छन् ।
भारतको शरणार्थी शिविरबाट ४० वर्षीय खुसन अहमद ४ दिनमा काठमाडौँ आइपुगे । उनले काठमाडौँसम्म आइपुग्न बंगलादेशी ५० हजार टाका बुझाएका थिए । दुई दम्पत्तीसहित ६ जना बालबालिका लिएर आएका उनले शरणार्थी बन्ने सपना पूरा नहुने थाहा पाए । रोहिंग्या समुदायमा साथीको विवाहमा गएको समयमा खुसनले आफू ठगिएको थाहा पाए ।
शरणार्थी बनेर अमेरिका र क्यानडा जाने प्रलोभनमा आएका थिए, उनी । ठगिएको थाहा पाएपछि शरणार्थी आयोग नेपाल स्थित कार्यालयमा पुगेका थिए । दलालले ठगेर काठमाडौँ ल्याएको थाहा पाएपछि शरणार्थी आयोगले अध्यागमन विभागमा लगेर उनलाई जिम्मा लगाएको थियो । आयोगले साथमा विभागमा उनीहरूलाई पनि लिएर गएको थियो ।
कति छन् रोहिंग्या ?
सन् २०१२ देखि रोहिंग्या समुदायका मानिसहरू नेपाल प्रवेश गर्न थालेका हुन् । म्यानमारबाट आफ्नो ज्यान बचाउनका लागि स्वदेश छोडेका थिए । फरक धर्म समुदायका मानिसलाई राज्यले अभद्र व्यवहार गर्ने र मार्न थालेपछि उनीहरू आफ्नो जन्मथलो छोडी पराई भूमिमा बसिरहेका छन् ।
बुद्धिस्ट धर्म अवलम्बन गरेकाहरूले उनीहरूलाई ज्यान मार्ने तथा देश निकाला गर्न थालेपछि उनीहरू भारत हुँदै नेपाल प्रवेश गरेका थिए । काठमाडौँको विभिन्न ठाउँमा गरी १७१ घर परिवार बसोबास गरिरहेका छन् । कपनको राम मन्दिरमा ८५ र लसुनटारमा ८६ घरपरिवार बसोबास गरिरहेका छन् ।
प्रतिक्रिया