काठमाडौं, ३१ भदौ । सुदूरपश्चिममा नेकपा एमालेको प्रदेश इन्चार्ज को हुने भन्ने विषयको विवाद यही साता सतहमा आयो। नेकपा एमाले र माओवादी केन्द्र एक नहुन्जेल सुदूरपश्चिममा उपाध्यक्ष भीम रावल प्रदेश इन्चार्ज थिए। गत फागुनमा नेकपाको एकीकरण खारेज भएपछि अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको इन्चार्ज माओवादी छोडेर आएका लेखराज भट्टलाई दिएका थिए। त्यतिबेला रावल नेता माधवकुमार नेपालको समूहमा थिए, उनीहरूले त्यो निर्णय मानेका थिएनन्।
१० बुँदे सहमति भएपछि एमाले अब २०७५ जेठ २ मा फर्किएको बताउँदै नेता नेपालको साथ छोडेका रावललाई यही साता अध्यक्ष ओलीले निराश बनाए। ओलीले सुदूरपश्चिमको इन्चार्ज भट्ट नै भएको बताएका हुन्।
१० बुँदे सहमतिअनुसार नेकपा एमाले जेठ २ मा फर्किएको भनेर माधव नेपालको साथ छोडेकी अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि अहिले त्यही समस्या परेको छ। नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता हुनु केही दिनअघि मुख्यमन्त्री बन्न गएकी शाक्यलाई पनि ओलीले बागमती प्रदेश कमिटी इन्चार्जमा फिर्ता गरेका छैनन्।
यसको झल्को बिहीबार काठमाडौं आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो। प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अध्यक्ष ओली पनि सहभागी भएको कार्यक्रममा प्रदेश कमिटी इन्चार्जको रूपमा बादलले आसन ग्रहण गरेका छन्। उदघोषकले उनलाई सम्बोधनका लागि बोलाउँदा पनि बागमती प्रदेश कमिटीका इन्चार्ज भनेर बोलाएका छन्। उपाध्यक्ष शाक्य पनि उक्त कार्यक्रममा पुगेकी छन्। उनलाई भने सञ्चालकले बागमती प्रदेशकी मुख्यमन्त्री र एमाले उपाध्यक्षको हैसियतमा आसन ग्रहण गर्न भनिएको थियो।
प्रतिक्रिया