अष्टलक्ष्मीलाई ओलीले भने फेरि पार्टी फुटाउन माधव नेपाल चाहिएको हो र ?

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेको उनले बताए । काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् । शाक्यले भनेकी थिइन्, ‘एक पटक मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ ।’ शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताए ।

उनले भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’ माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए ।प्रतिक्रियावादीभन्दा चर्को बोलेको भन्दे ओलीले अघि भने, ‘जहिले पनि रोष्टममा उभिएपछि गीत गाउने ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ ।’ कम्युनिस्टको दुई तिहाईको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो र, कसको डुंगा डुब्न लाग्यो ?’

लामो समय माधव नेपाल समूहमा रहेको, तर नयाँ पार्टीमा नगएर एमालेमै बसेका नेताहरुतर्फ संकेत गर्दै ओलीले लामो समय सँगै काम गर्दा माया ममता हुने भएपनि त्यसलाई छाड्नुपर्ने बताए । ‘आज देशमा निकम्मा सरकार छ, माधव नेपालजीले एमालेमाथि हमला गरेर यो अवस्था ल्याएको,’ उनले भने ।

उनले माधव नेपाल बाहेक अरुलाई पार्टीमा फर्किन आहृवान समेत गरेका छन् । एमाले अध्यक्ष ओलीले अघि भने, म माधव नेपाल,घरमा आगो लगाएर खरासी घसेर तीर्थयात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । माधव नेपालले झुक्याएका, भ्रममा पारेका नेता कार्यकर्ता पार्टीमा फर्किनुस् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति