काठमाडौं, ३१ भदौ । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले भनिन्, ‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ विभाजनले कसैको हित नगर्ने भन्दै उनले सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्ने बताइन् । नेतृ शाक्यले अब प्यानलगत चुनाव गर्न नहुने पनि बताइन् । नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको शाक्यले बताइन् ।पार्टीमा पछिल्लो समय विचारमा पनि विचलन आएको उनले बताइन् । ‘खासगरी नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न सकेनौं । जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं,’ शाक्यले भनिन्, ‘अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’जनताले झण्डै दुई तिहाईको बहुमत दिएको र केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति भएपनि पार्टीले जनमतको सम्मान गर्न नसकेको उनले बताइन् । शाक्यले अघि भनिन्, ‘फेरि पनि चुनावमा जानुपर्छ, हामी फुट्नु हुँदैन, हामी एकढिक्का हुनुपर्छ मनमा राखेनौं । पछि जेजे पर्छ,पर्छ भन्ने ढंगले सोच्यौं ।’
जालझेल आवश्यक छैन, जेठ २ मा फर्किएर अगाडि बढौं : मुख्यमन्त्री शाक्य
प्रतिक्रिया