चीनबाट दश दिनभित्र ४४ लाख डोज आइपुग्ने

काठमाडौं, २८ भदौ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप १० दिनभित्र ल्याउने भएको छ । आइतबार विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समितिको वार्षिक बैठककाबारेमा जानकारी दिन स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले ४४ लाख डोज खोपको भुक्तानी भइसकेको र एक हप्तादेखि १० दिनभित्र आइपुग्ने बताएका हुन् ।

उनले दसैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने योजना रहेको पनि बताए । त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले ५ करोड ५० लाख मात्रा खोप आवश्यक पर्ने भन्दै योजनाअनुसार एक करोड चार लाख मात्रा खोप लगाइसकिएको जानकारी दिए ।

त्यसैगरी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजानिक रुपमै बताइसकेका छन् ।स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा पूरा मात्रा खोप लगाउनेको संख्या १७।४१ प्रतिशत पुगेको छ । त्यस्तै पहिलो मात्रा मात्र खोप लगाउनेको संख्या समेत हिसाब गर्दा खोप पाउनेको संख्या १९.४५ प्रतिशत छ ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्का काठमाडौं जिल्लामा पहिलो मात्रा खोप लगाउनेको संख्या ५१ र पूरा मात्रा खोप लगाउने ४१ प्रतिशत पुगेको बताउँछन् ।

हाल खोप सकिएकाले विदेश जानेहरुलाई बाहेक अरुलाई दिइएको छैन ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाका अनुसार प्रदेशमा केही मात्रामा खोप मौजातमा रहेतापनि विभागमा आपतकालीन अवस्थामा दिन राखिएकोबाहेक खोप छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति