५७ औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी

काठमाडौँ, २७ भदौ । ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्‍ने नाराका साथ यही भदौ २९ गते ५७ औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र संवर्द्धनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराइनेछ ।


दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ हुनेछ । दिवसका कार्यक्रममा ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन भिडियो सार्वजनिक गरी पुरस्कृत गरिनेछ । सडक बालबालिका मुक्त राष्ट्र नेपाल बनाउने अभियान अन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि दिवसकै दिन शुभारम्भ गरिनेछ ।


यस्तै भदौ ३० गते सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्‍याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गराइनेछ । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले दिवसका अवसरमा बाल अधिकारका क्षेत्रमा नीगतगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुने बताए । उनले बाल अधिकारबारे सञ्‍चारमाध्यमले उचित स्थान दिन नसकेको गुनासो गरेका छन् । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले नयाँ कानूनी व्यवस्थाबमोजिम सबै स्थानीय तहमा बालअधिकार संरक्षणका लागि संरचना स्थापना हुन थालेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति