प्रतिनिधिसभाको बैठकमा देखिएको यस्तो दृश्य


माननीय सदस्यहरू प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ‘…..प्रतिनिधिसभाको बैठकको कारबाही अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले यी शब्द भनि नसक्दै प्रमुख प्रतिपक्षी दल एमालेकी सचेतक शान्ता चौधरी कुदेर वेलमा पुग्थिन् ।

शुक्रबार बसेका प्रतिनिधिसभाका तीनवटै बैठकको सुरुवातमा शान्ता त्यसरी नै कुदेर वेलमा पुग्थिन् भने एमालेका अरु सांसदहरू उनलाई पछ्याउँथे । मर्यादापालकले घेरा लगाउन नपाउँदै वेलमा पुग्ने उनलाई रोक्न उनीहरूलाई सकस पर्थ्यो । शान्ता भने मर्यादापालकको घेरामा टाउको घुसाउँदै अगाडि बढ्ने प्रयास गर्थिन् ।

माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखविरुद्ध संसद् अवरुद्ध गरिरहेको छ एमाले । सभामुख सापकोटाले वैशाख २७ गते पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्दा ह्वीप उल्लंघन गर्नेमध्ये १४ सांसदलाई कारबाहीका लागि भदौ १ गते सिफारिस गरेको थियो ।

एमालेले सिफारिस गरेको ४८ घण्टाभित्रै किन पदमुक्तको सूचना नटाँसेको ? भन्दै सभामुखविरुद्ध एमाले लागेको हो । त्यसैका लागि उनीहरूले सुरु दिनदेखि संसद् बैठक अवरुद्ध गर्ने क्रममा पक्षपातपूर्ण व्यहार बन्द गर भन्दै नारा लगाएका थिए ।
एमाले सांसदहरू जबर्जस्ती रोस्ट्रम र सभामुखको आसनमा प्रवेश गर्न खोजेपछि मर्यादापालकले रोक्नका लागि ५ तहभन्दा बढीको सुरक्षा घेरा तयार पारेको थियो ।

सभामुख सापकोटाले भने आफूमाथि उठेका प्रश्नको जवाफ दिइसकेको र उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको स्मरण गराएका थिए । बाढी पहिरो, जनजीविकाका विषयमा अरु माननीय सांसदहरूले बोल्न खोज्नुभएको छ, भन्दै सभामुखले अवरोध हटाउन आग्रह गरेका थिए ।
एमाले सांसदहरू भने नागरिक सर्वोच्चता कायम गर, बल प्रयोग गर्न पाइँदैन, संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नारा लगाइरहेका थिए ।

त्यसै बेला प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बैठकमा प्रवेश गरे । अरु सांसद नाराबाजी गरेर संसद् अवरोध गरिरहेको दृश्य उनले आफ्नो सिटमा बसेरै हेरे ।बैठकको सुरुदेखि नै अरु सांसदले नाराबाजी गरे पनि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, ईश्वर पोखरेल, घनश्यम भुसाल, विष्णु पौडेल भने सहभागी भएनन् । उनीहरू आफ्नो सिटबाट त उठे तर वेलको एक छेउमा एकआपसमा कुराकानी गरे । त्यो समूहमा पछि सुरेन्द्र पाण्डे पनि थपिए । योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका सांसद पनि माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त नगर्ने सभामुखविरुद्धको संसद् अवरोधमा सक्रिय देखिएनन् ।संसद् अवरोधमा महेश बस्नेत, गोकुल बाँस्कोटा, सूर्य पाठक, पदम गिरी, निरुदेवी पाल, शान्ता चौधरी, गंगा चौधरी, आशा विक, नरबहादुर धामी, नारदमुनी रानालगायत सक्रिय देखिए ।सभामुखविरुद्ध नाराबाजी गरेपछि सभामुख सापकोटाले भने, हामी आफैंले बनाएको प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१ को ख ग र घ कार्यान्वयनको दायित्व हामी सबैको हो भनेर सम्झाए । २३ गतेको बैठकमा चिच्याएर उक्त व्यवस्था आकर्षण गराएका उनको बोली दोस्रो बैठकमा भने संयमित थियो । त्यो व्यवस्थामा सभामुखविरुद्ध आचरण विरुद्धको प्रस्ताव छलफलका क्रममा बाहेकमा आलोचना गर्न नपाइने उल्लेख छ ।

आफूहरूलाई पदमुक्त किन नगरेको भनेर एमाले सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गर्दै सदन अवरोध गरेको हेरिरहेका नेकपा (एस) का सांसदहरूले भने झिनो प्रतिरोध गरे । उनीहरूले टेबुल ठोक्नुका साथै नारा लगाउन पनि खोजेका थिए । सांसद रामकुमारी झाँक्री, प्रेम आलेलगायतले ठूलो आवाज गर्न लागेपछि नाराबाजी गरिरहेका एमाले सांसदहरूको ध्यान पनि उनीहरूतिरै गएको थियो ।
त्यसैबीच एमाले सांसदहरूले वाक स्वतन्त्रता कायम गर भन्ने नारा लगाएपछि सभामुख सापकोटाले भने, वाक स्वतन्त्रताको कुरा उठाउनुभयो, मलाई ठीक लागेको छ । अरु माननीयहरूलाई पनि बोल्न दिनुपर्छ । उनले छलफका क्रममा आफ्ना धारणा राख्न र बैठक सञ्‍चालन गर्ने वातावरण बनाउन आग्रह गरे ।

नेकपा (एस) का सांसदहरू बसेको सिटबाट एमालेका सांसदहरूलाई राजीनामा दिएर जाउ भन्ने आवाज आइरहेको थियो । सांसद झाँक्रीले संसद्को हत्यारा राजीनामा देऊ भनिरहेकी थिइन् ।

प्रतिपक्षीको होहल्ला र नेकपा (एस) का सांसदको झिनो प्रतिरोधका बीच १८ मिनेटमा पहिलो बैठक स्थगित भयो । त्यसपछि ओली बाहिरिए । आफूतिर हेरिरहेका प्रधानमन्त्री देउवातिर नहेरी ओली बाहिरिएका थिए ।

प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुवात पनि पहिलेको झैं भयो । सभामुखले बैठक सुरु गर्न नपाउँदै शान्ताले कुदेर मर्यादापालकहरूले खडा गरेको घेरातिर टाउको घुसाउन पुगिन् ।दोस्रो बैठकमा पनि नेम्वाङ, रावल, पौडेल, भुसाल आपसमा कुराकानीमै व्यस्त थिए । वेलमा जम्मा भएका सांसदहरूले पहिलेकै नारा दोहोर्‍याए ।

सभामुखले सदन सञ्चालनका लागि वातावरण बनाउन आग्रह गरे । राष्ट्रकासामू धेरै महत्वपूर्ण समस्या र विषय रहेको भन्दै उनले संसद् अवरुद्ध गरेर कसैलाई फाइदा नहुने धारणा राखे । उनले जिम्मेवार प्रतिपक्ष बन्न एमालेलाई आग्रह गरे । एमाले सांसदको अवरोध कम नहुने बुझेका उनले सभाको कारबाही अगाडि बढाए ।सभामुखले पहिलो बैठक अवरुद्ध भएयता प्रतिपक्षी दलसँग छलफल नै नगरी प्रमुख प्रतिपक्षको अवरोधका बीच सदनको कारबाही अगाडि बढाएका हुन् । नेमकिपाका सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न सभामुखले समय दिए । सभामुखले सदनको कारबाही अगाडि बढाउन खोजेसँगै एमाले सांसदहरू थप हलचल गर्न थाले । नारामात्रै लगाइरहेका उनीहरू यताउता गर्न थाले । उनीहरू रोस्ट्रममा जान र सभामुखको आसनमा पुग्न खोजिरहेका थिए । त्यसलाई रोक्न ठूलो संख्यामा मर्यादापालक तैनाथ गरिएको थियो ।

सुवालले आफ्नो प्रस्ताव राख्न छोडेर एमसीसी अस्वीकृत गर्न र समयमै अमेरिकाको अभिष्ट बुझ्न सांसदहरूलाई आह्वान गरे ।सभामुखले अर्थमन्त्रीलाई रोस्ट्रममा आउन समय दिए । उनले आर्थिक अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुपर्ने थियो । सभामुखले नाम लिनेबित्तिकै अर्थमन्त्री जनार्दन शर्मा दौडिएर रोस्ट्रमतिर लागे । एमाले सांसदहरूले उनलाई रोक्नका लागि मर्यादापालकसँग घम्साघम्सी गरे ।
घम्साघम्सीमा कांग्रेसका सांसद शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव बसेको सत्तापक्षको अगाडिको सिटको टेबुल भाँचियो । एमाले सांसदहरूले मर्यादापालकलाई पेलेपछि टेकुल भाँचिएको थियो । सुवालले भने आफ्नो प्रस्ताव नराखी रोस्ट्रमबाटै पेस गर्ने वातावरण बनाउन माग गरे ।

त्यसैबीच, सुवाल र सभामुख सापकोटाबीच सवालजवाफ चल्यो । सभामुखले आफ्नो सिटबाटै कुरा राख्न सुवाललाई निर्देशन दिएका थिए । तर, सुवालले भने प्रमुख प्रतिपक्षी दलका कारण कुरा नसुनिएकाले रोस्ट्रमबाटै प्रस्ताव राख्ने वातावरण बनाइदिन आग्रह गरे ।महेश बस्नेतले सभामुखले बलमिच्याँइ गर्न नपाउने भन्दै नारा लगाइरहेका बेला एमाले सांसदहरूले नारदमुनी रानालाई उचालेर रोस्ट्रममा पठाउन खोजे । तर मर्यादापालकले रोके ।कार्यसूचीमा रहेका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृत भएपछि बैठक ३३ मिनेट चलेर स्थगित भयो ।आफ्नो सिटमा फर्किने बेला सांसद गंगा चौधरी प्रधानमन्त्री देउवातिर हेर्दै झोक्किइन् । उनी यस्तो गर्न मिल्छ भन्दै झोक्किएकी थिइन् ।

दोस्रो बैठक स्थगित भएर तेस्रो बैठक आह्वान भएपछि विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक आउने चर्चा सुरु भयो । कतिपय सत्तारुढ दलका सांसदलाई नै थाहा थिएन कि, किन तेस्रो बैठक बोलाइयो ? उनीहरूले बजेटसँग सम्बन्धित अध्यादेश प्रतिस्थापन गर्न विधेयक आउँदैछ भन्ने थाह पाएपछि पहिला किन नभनेको ? किन लुकाइयो यो कुरा ? भनेर असन्तुष्टि एकआपसमा सुनाइरहेका थिए । तेस्रो बैठक सुरु भएसँगै शान्ता चौधरी पहिलो र दोस्रो बैठकमा झैं कुदेर वेलमा पुगिन् । उनलाई अन्य सांसदले पछ्याए र नाराबाजी सुरु गरे ।अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममै थिए । सभामुख सापकोटाबाट विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गर्न अनुमति दिएसँगै अर्थमन्त्री वाचन गर्न लागे ।गंगा चौधरी पछाडिबाट मर्यादापालकको घेरा छल्दै अगाडि बढ्न खोजेकी थिइन् । उनी शशांक कोइराला बस्ने सिट अगाडिको भाँचिएको टेबुलमा चढिन् । उता नरबहादुर धामीलाई उचालेर रोस्ट्रममा पठाउन खोजिरहेका थिए । साथै रेखाकुमारी झाले पनि मर्यादापालकलाई छक्याएर सत्तारुढ दलका सांसद बस्ने सिटको बीचबाट भएर प्रधानमन्त्री र गृहमन्त्री बसेको सिट अगाडि पुगिन् । प्रतिपक्षी दलका सांसहरू सत्तापक्ष बस्ने ठाउँबाट आएर अगाडि बढ्न खोजेपछि कांग्रेस सांसदहरू पनि जुर्मुराए ।

पार्वता डिसी चौधरी, दिलेन्द्रप्रसाद बडू, देवप्रकाश तिमिल्सिनालगायतले उनीहरूलाई रोक्न खोजेका थिए ।प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक र दोस्रो बैठकमा ओली निरन्तर आए । आफ्ना सांसदहरूलाई वेल घेरेको बसेर हेर्दै आएका ओली अर्थमन्त्रीले विनियोजन विधेयक वाचन गर्न थालेसँगै वेलमा नै पुगे । अर्थमन्त्रीले ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएका कतिपय योजना काटेर नयाँ योजना ल्याएका थिए । त्यसरी ल्याएका नयाँ योजना वाचन गर्न लागेपछि ओली वेलमा पुगेका हुन् । ओली करिब १० मिनेट वेलमा उभिएर आफ्नै सिटमा बसे । प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलोपटक वेलमा पुगेका हुन् । आशा विक, पदम गिरी, धामीलगायतलाई उचालेर रोस्ट्रममा चढाउने प्रयास एमाले सांसदहरूबाट निरन्तर भइरह्‍यो । रामवीर मानन्धर, नीरुदेवी पाललगायत सभामुखको आसनको पछाडिबाट रोस्ट्रममा जान सकिन्छ कि भनेर प्रयास गरिरहेका थिए । त्यसरी सभामुखको आसनमा जान र संसदीय प्रक्रिया अवरुद्ध गर्न सकिँदैन भन्ने थाहा पाएपछि उनीहरू फेरि वेलमै फर्किए ।त्यसैबीच सुरेन्द्र पाण्डे मोबाइल कानमा लगाउँदै बाहिरिए । ठीक त्यही बेला माधवकुमार नेपाल पनि अर्को ढोकाबाट बाहिरिए । सँगै बाहिरिएका उनीहरू करिब ५ मिनेटपछि छुट्टाछुट्टै ढोकाबाट बैठकमा प्रवेश गरेका थिए । नेकपा (एस) एक सांसदले उनीहरूबीच बाहिर कुराकानी भएको दाबी गरे । विरोध उग्र हुँदै गएपछि सांसद रेखाकुमारी झाले पहिले गृहमन्त्री अगाडिको माइक तानिन् त्यसपछि प्रधानमन्त्री अगाडिको माइक तान्न अगाडि सरिन् । उनलाई ओलीले त्यसो नगर्न इशारा गरे भने सांसद शिवमाया तुम्बाहाङ्फेलगायतले पनि रोके ।

माइक किन उठाएको भन्नेबारे सांसद झाले बैठक सकिएपछि बाहिर आएर भनिन्, जे पायो त्यसैले टाउको फुटाउने योजना थियो । सभामुखलाई र अर्थमन्त्रीको टाउको फुटाउनका लागि माइक उठाएको हो ।अर्थमन्त्रीले प्रतिस्थापन विधेयक प्रस्तुत गरिसकेपछि पूर्व सांसदद्वय महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरियो ।बाहिरिँदै गर्दा नारा लगाउन र रोस्ट्रममा चढ्न भगिरथ प्रयास गरेका एमाले सांसदहरू घाँटी बसेको र थकाइ लागेको बताइरहेका थिए । उनीहरूले आइतबार १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विरोध गर्नका लागि तयार भएर आउने पनि बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board