वीर अस्पतालको सेवा विस्तार

काठमाडौँ, २५ भदौ । भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’ को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो ।


उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । “एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञ सहितको टोली गई उपचार गर्नेछ । साधारण एक्स–रे, भिडियो एक्स–रे र परीक्षणका लागि प्रयोगशाला सञ्‍चालनमा ल्याइनेछ”, उनले भने । वीर अस्पतालले तीन वर्षअघि दुवाकोटस्थित परियोजना मार्फत् सेवा दिँदै आएको छ ।


अहिले दैनिक ३०–४० बिरामी नियमित रुपमा उपचार गर्न त्यहाँ जाने गरेका छन् । पाँच सय ३८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पताललाई सरकारले यसै आर्थिक वर्षदेखि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउन बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा दुवाकोट अस्पताललाई समेटी चालु आवमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी अर्को आ.व.देखि भवन निर्माण थालिने मिश्रले बताए । “अब सबै काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्छ”, उनले भने । मन्त्रालयले चाँडै नै आयोजना प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।


वीर अस्पतालमा अहिले पुरानो भवनमा चार सय ६० र नयाँमा पाँच सय शय्या सञ्‍चालनमा छ । नयाँ सर्जिकल भवनलाई सरकारले कोरोना भाइरसबाट सङ्क्रमतिको उपचारका लागि ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ मा परिणत गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति