एमसीसीको विरोधमा उत्रिएका ६२ जना राजधानीबाट पक्राउ

काठमाडौं, २५ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा उत्रिएका ६२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
राजधानीका विभिन्न स्थानबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले बताए।
पक्राउ पर्नेमा नेकपा विप्लव समूह, क्रान्तिकारी माओवादी वैद्य समूह, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), हन्द्रेड ग्रुप लगायत अभियन्ताहरु पनि छन्। नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य सुरेश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष ईश्वर तिमल्सिना, महासचिव वसन्त बोगटी, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश महर्जन लगायत छन्।यस्तै आफूलाई अभियन्ता बताउने स्वागत नेपाल लगायत पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरु केहीलाई नगर प्रहरी कार्यालय र केहीलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ। एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार बिहान काठमाडौं आएसँगै विरोध चर्किएको हो। सरकारले एमसीसी संसदमा पेश गर्ने तयारी गरेसँगै विरोध सुरु भएको थियो। बुधबार पनि १६ जना पक्राउ परेका थिए।

एमसीसीको टोलीले बिहीबारबाट शीर्ष नेताहरुसँग भेटघाट सुरु गरेको छ। दिउँसो नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेको थियो।

एमसीसीको टोली काठमाडौं आएसँगै प्रहरीले सम्भावित विरोधका कार्यक्रम रोक्न सक्रियता देखाएको हो। एमसीसीलाई लक्षित गरेर भइरहेका विरोधका गतिविधिमाथि थप निगरानी बढाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।एमसीसीको विरोधमा गतिविधि हुन सक्ने संभावित ठाउँमा बिहानैबाट बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। सादा पोशाकका प्रहरीको संख्या पनि बढाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति