काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन माग गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएर पूर्वगृहमन्त्रीसमेत रहेका जोशीमाथि गरिएको गरिएको कारबाही फिर्ता लिन माग गरेको हो ।
पत्रमा उपसभापति निधिले कैलालीका नेता पुस्करनाथ ओझालाई गरिएको कारबाही पनि फिर्ता लिन माग गरेको जनाइएको छ । पत्रमा कारबाही फिर्ताको निर्णय गर्न अविलम्ब केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरिएको निधी निकट एक स्रोतले भन्यो । २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीले नेताद्वय जोशी र ओझालाई एकैदिन कारबाही गरेको थियो। १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा कारबाही गरिएका नेता–कार्यकर्ताको कारबाही फिर्ता लिए दूरदर्शी, बुद्धिमानी र विवेकसम्मत हुने उपसभापति निधिको दाबी छ।
निर्वाचन निर्देशिकाअनुसार संघीय संसद निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा सवै आरक्षित समूहको प्रतिनिधित्व हुने प्रत्याभूत व्यवस्थामा कटौती हुन गएको निधिको भनाइ छ। ‘यो समावेशी मान्यता र १३औं महाधिवेशनसम्म कायम पार्टीको पद्धतिविपरीत भयो। सबै आरक्षित समूहबाट अनिवार्य प्रतिनिधित्व हुने प्रावधान पुनः व्यवस्थित गर्नका लागि पनि केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने भन्दै पत्रमा आग्रह गरिएको समेत गरिएको बताईएको छ ।
प्रतिक्रिया