तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा


काठमाडौं, २३ भदौ । तालिबानले मंगलबार साँझ अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको घोषणा गरेको छ। र, भनेको छ– अफगानिस्तान अब ‘इस्लामिक एमिरेट’।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार तालिबानका संस्थापकमध्ये एक मुल्लाह मोहम्मद हसन अखुन्द सरकारको प्रमुख र मुल्ला अब्दुल गनी बरादर उपप्रमुख भएका छन्। बरादर तालिबानका सहसंस्थापक हुन्।

अखुन्दको नेतृत्वमा गठित सरकारमा मुल्ला याकुब रक्षामन्त्री र सिराजुद्दिन हक्कानी गृहमन्त्री हुनेछन्। तालिबानका प्रवक्ता मुजाहिदले भने, ‘यो अन्तरिम सरकार हो।’

उनले अब अगाडि पूर्ण सरकार गठनको काम हुने जानकारी दिए। उनले भने, ‘तबसम्म मुल्ला हबितुल्लाह अखुन्दजादा मन्त्रिमण्डलको संरक्षक हुनेछन्।’

तालिबानले गत अगस्ट १५ का दिन राजधानी काबुल कब्जा गरेको थियो।

२० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम

  • सन् २००१ अक्टोबर ७: अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल-कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल-कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला
  • सन् २००१ नोभेम्बर १३: गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा
  • सन् २००९ फेब्रुअरी ७: अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो
  • सन् २०१४ डिसेम्बर: नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित
  • सन् २०२० फ्रेबुअरी २९: अमेरिका र तलिबानबीच अफगानिस्तानमा ‘शान्ति ल्याउने सम्झौता’ मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता
  • सन् २०२१ एप्रिल १३: अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा
  • सन् २०२१ अगस्ट १६: एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल
  • सन् २०२१ अगस्ट ३१: अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति