काठमाडौँ, २१ भदौ । दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ । शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न सक्ने निर्देशन दिएको छ ।
मन्त्रालयसँग सम्बन्ध रहेको उक्त सेल निर्माणको काम सकिएको र अन्य काममा आफ्नो जिम्मेवारी नरहेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए । काठमाडाैँ महानगरपालिकासँग समन्वय गरी फोहर व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल निर्णय गर्न मन्त्रालयले विभागलाई निर्देशन दिइसकेकाले केही दिनमा का.म.पा. सहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर बञ्चरेडाँडा पुग्ने बताइएको छ । तत्काल फोहर व्यवस्थापन स्थल निर्माणको काम सकिएको भए पनि दोस्रो सेल निर्माण र अन्य काम भइरहेको मन्त्रालयले जनाएको छ ।
बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए तापनि पूर्णरुपमा काम अझै सकिएको छैन ।
यता का.म.पा. को वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ आफूहरुलाई मन्त्रालय र विभाग कतैबाट पनि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न सक्ने बारे औपचारिक जानकारी नआएको बताउँछन् । बञ्चरेडाँडा पहिलो सेल निर्माण भएको जानकारी नआएको र सिसडोलमा पुनःफोहर व्यवस्थापन गर्न मुस्किल परेकाले का.म.पा. सहित १८ स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको प्रमुख श्रेष्ठले बताएका छन्।
समन्वयविना फोहरको गाडी बञ्चरेडाँडा जाँदा स्थानीयले अवरोध गर्ने भन्दै स्थानीय र सम्बन्ध भएका निकायसँग औपचारिक छलफल गरेर मात्र दीर्घकालीनरुपमा फोहर व्यवस्थानपमा काम गर्नुपर्ने का.म.पा. को भनाइ छ । अठार दिनपछि गत बुधबारदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उठ्न थालेकोमा सबै स्थानको फोहर सझैसम्म व्यवस्थापन हुन सकेको छैन ।
फोहर उठ्न थालेको छ दिन हुँदा सम्म काठमाडौँका मुख्य-मुख्य चोक सफा हुन सकेको छैन । कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर उस्तै छ । नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । लामो समयदेखिको फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको का.म.पा. को भनाइ छ ।
आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने बताइएको छ । अहिले साविक अनुसार फोहर व्यवस्थापनको काम भइरहको छ । “धेरै दिनको फाेहाेर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो । रोकिएको समयमा करिब १५ हजार मेट्रिक टन फोहर जम्मा भएको छ । सिसडोलमा वि. सं. २०६२ मा दुई वर्षको मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी का.म.पा. को ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र का.म.पा. को गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण भएको हो । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा नै व्यवस्थापन गरिन्छ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले केही दिनभित्रै का.म.पा. र विभागबीच छलफल गरेर कहिलेबाट फोहर लाने बारे समय तय गर्ने बताएका छन् । महानिर्देशक प्याकुरेल फोहर व्यवस्थापनका सन्दर्भमा का.म.पा.ले तत्काल आवश्यक पर्यो भन्दै विभागलाई औपचारिक पत्राचार नगरेको बताए ।
प्रतिक्रिया