काठमाडौँ, भदौ २१ । नेकपा एमाले विभाजनपछि प्रदेश २ मा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टी ठुलो देखिएको छ । प्रदेशसभामा एमालेका २१ सांसदमध्ये १२ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् भने थप एक सांसदले नयाँ दलको पक्षमा सनाखत गराउने प्रक्रिया जारी रहेको बताइएको छ ।
प्रदेश २ प्रदेशसभामा एमाले दोस्रो ठुलो दल थियो । प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल ५५ सांसदसहित पहिलो दल रहँदा एमाले २१ सांसदसहित दोस्रो ठुलो दल थियो । तर पार्टी विभाजनपछि एमाले प्रदेशसभामा पाँचौं दलका रुपमा सीमित भएको छ ।प्रदेशसभामा अहिले जसपाका पक्षमा ३९ सांसद छन् ।
यस आधारमा प्रदेशसभामा अहिले पनि जसपा पहिलो दलकै रुपमा कायम छ । यस्तै नेपाली काँग्रेस १९ सांसदसहित प्रदेशसभामा दोस्रो ठुलो दल रहँदा जसपाबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी दल १६ सांसदसहित तेस्रो ठुलो दल बनेको छ । एमालेबाट विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी १२ सांसदसहित चौथो ठुलो दल बनेको छ । यद्यपि दिल्लीमा उपचारका लागि रहेका प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीले समेत नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न आवश्यक प्रक्रिया सुरु भइसकेका कारण यो पार्टीमा १३ सांसद पुग्ने बताइएको छ ।
प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ८ सांसद छन् भने एमाले पनि ८ सांसदमा सीमित हुने देखिन्छ । प्रदेशसभामा आकारको हिसाबले माओवादी केन्द्र र एमाले पाँचौं स्थानमा पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखतको प्रक्रियामा रहेका सांसद डिल्लीप्रसाद उप्रेतीको सनाखत प्रक्रिया पूरा नभएको अवस्थामा भने एमाले ९ सांसदका साथ पाँचौं शक्तिमै रहने देखिन्छ भने त्यो अवस्थामा माओवादी केन्द्र छैटौं शक्ति बन्ने छ ।उता, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठुलो दलका रुपमा रहेको नेकपा एमाले पनि विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद थिए । पार्टी विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
अब एमालेसँग १२ सांसदमात्र बाँकी छन् । यो प्रदेशमा पनि मूल पार्टीको तुलनामा विभाजन भएर बनेको नयाँ दल ठुलो देखिएको हो ।एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र १४ सांसदसहित सबैभन्दा ठुलो दलका रुपमा रहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी १३ सांसदसहित दोस्रो प्रमुख दल बनेको छ । नेपाली काँग्रेस र नेकपा एमालेका सांसद संख्या भने १२÷१२ छ । प्रदेशसभामा जसपाका दुई सांसद छन् ।
प्रतिक्रिया