बीपी प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सेवा बन्द : कर्मचारी आन्दोलनमा

काठमाडौं, २० भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । ८२ दिनयता प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले आइतबारबाट इमरजेन्सी, कोरोना संक्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा काम छाडेका हुन् ।

प्रतिष्ठान सुधारको माग राख्दै आएको संयुक्त संघर्ष समितिले सरकारले माग सम्बोधन गर्न ध्यान नदिएपछि बिहीबार काम छाड्ने चेतावनी दिएको थियो । माग सम्बोधन गर्न चासो नदिएपछि काम छाडिएको संयुक्त संघर्ष समितिका संयोजक डाक्टर एसपी रिमालले जानकारी दिए । ‘सरकारले आधा घण्टामा गर्ने काम गरेको छैन,’ उनले भने, ‘माग सम्बोधन नभएपछि आन्दोलन गर्न बाध्य भयौं ।’प्रतिष्ठान विगार्न पदाधिकारीको मात्र नभई कर्मचारीको पनि दोष रहेको बताउँदै उनले छानविनका लागि तत्काल आयोग बनाउनु पर्ने बताए । अख्तियारको मुद्दा फास्ट ट्याकमा सम्बोधन गर्नका लागि सरकारले आग्रह गर्नुपर्ने उनले बताए ।

एक महिनाअघि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले पदाधिकारीहरूलाई कारबाही गर्न गरिएको सिफारिस र आन्दोलनरत पक्षसँग ६ बुँदे सम्झौता गरेको थियो । तर एक महिनासम्म सम्झौता कार्यान्यन नभएको उनले बताए ।आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीको बहिर्गमनको माग गर्दै आएको छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने, अनियमितता रोक्नुपर्नेलगायत माग राख्दै सुरु भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले चासो नदिएको संघर्ष समितिको गुनासो छ । आन्दोलन नरोकिएपछि प्रतिष्ठानका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले भदौ ११ गते पदबाट राजीनामा दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति