नेपालमा लगानी गर्ने विदेशी कम्पनीले लगे २८ अर्ब रुपैयाँ लाभांस

काठमाडौँ, २० भदौ ।  नेपालमा सञ्चालनमा रहेका २५ विदेशी साझेदारका कम्पनीले गत बर्षको नाफाबाट आकर्षक लाभांस लगेका छन्। अझै केही कम्पनीले लाभांस लैजान बाँकी नै छ। नियमसंमत चलेका कम्पनीहरुले गरेको नाफा लैजान कुनै समस्या छैन। उनले नेपाल राम्रो नाफा आर्जन गर्न सकिने आकर्षक गन्तब्य भएकोसमेत अर्थवीद्हरुको दावी छ । नेपालमा लगानी गरेका विदेशी कम्पनीले कोरोना कहरमा पनि राम्रै नाफा कमाएका छन्। त्यसबापतको अधिकांश रकम उनीहरुले विदेश लगेको पाइएको छ।

गत वर्षको साउनदेखि यो वर्षको असारसम्म अर्थात् आर्थिक वर्ष २०७७/०७८ मा विदेशी कम्पनीले २८ अर्बभन्दा बढी रकम लगेका हुन्।
व्यवसाय गरेबापत भएको नाफा लैजान पाउने नेपालको कानुनी व्यवस्थाअनुसार नै उनीहरुले उक्त रकम विदेश लगेको उद्योग विभागले जनाएको छ।

विभागको तथ्यांकअनुसार रोयल्टी, लाभांश तथा सेयर बिक्रीमार्फत नेपालबाट २५ वटा कम्पनीले २८ अर्ब ३ करोड ४८ लाख ५५ हजार ४ सय ५० रुपैयाँ ३१ पैसा विदेश लगेको देखिएको हो। रोयल्टीबापत मात्रै एकै वर्ष नेपालबाट ७९ पटक कम्पनीहरुले विदेशमा रकम लगेका छन्। एनसेल, गोर्खा ब्रुअरीजस्ता बहुराष्ट्रिय कम्पनीले एकै वर्षमा पटक–पटक रोयल्टी लगेको तथ्यांकमा देखिएको छ। रोयल्टीमार्फत नै यी विदेशी लगानीकर्ताले एक वर्ष अवधिमा २ अर्ब १४ करोड ६४ लाख ९८ हजार १ सय ३८ रुपैयाँ ६ पैसा लगेका छन्। त्यस्तै सेयर लाभांश तथा सेयर बिक्रीमार्फत २५ अर्ब ८८ करोड ८३ लाख ५७ हजार ३ सय १२ रुपैयाँ २५ पैसा विदेश लगेका छन्। नाफाबापतको रकम विदेश लैजाँदा १५ प्रतिशत कर लाग्छ। विदेश लैजान सरकारले स्वीकृत गरेको यो रकम करसहितको हो।

कसले कति लगे ?

नेपालमा गरेको व्यवसायबाट निस्केको नाफा सबैभन्दा धेरै सूर्य नेपालबाट बाहिरिएको तथ्यांकले देखाएको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सूर्य नेपालबाट ३ अर्ब रुपैयाँ विदेशिएको छ।

त्यस्तै गोर्खा ब्रुअरीबाट १ अर्ब ७२ करोड, एनसेलबाट १ अर्ब १९ करोड, युनिलिभरबाट १ अर्ब, मर्स्याङ्दी हाइड्रोबाट ४० करोड ८५ लाख रुपैयाँ विदेशिएको छ। बाँकी रकम अन्य कम्पनीबाट विदेशिएको विभागले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति