काठमाडौं, १८ भदौ । काठमाडौंका २ स्थानीय तहका उप–प्रमुखसहित ३५ जना नेकपा एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।शुक्रबार २ वटा स्थानीय तहका उप–प्रमुखसहित ३५ जनाले नेकपा एमाले छोडेर नेकपा समाजवादीमा आवद्ध भएको बागमती प्रदेशसभा सदस्य एवम् नेकपा एकीकृत समाजवादी काठमाडौंका अध्यक्ष बसन्त मानन्धरले जानकारी दिए ।उनका अनुसार ३५ जना जनप्रतिनिधिले शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा नेकपा समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।काठमाडौंको शंखरापुर नगरपालिकाकी उप–प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, तार्केश्वर नगरपालिकाकी उप–प्रमुख भवानी डोटेल धितालसहित ३५ जना नेकपा एसमा खुलेको अध्यक्ष मानन्धरले बताए । अध्यक्ष मानन्धरका अनुसार काठमाडौं महानगरपालिकाका २ जना वडा अध्यक्ष, तारकेश्वर नगरपालिकाका २ जना वडा अध्यक्ष र टोखा नगरपालिकाका एक जना वडा अध्यक्षले नयाँ पार्टी रोजेका छन् ।यसैगरी काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का अध्यक्ष इश्वर मान डंगोल र वडा नम्बर ७ का वडा अध्यक्ष शुक्रमान डंगोलले पनि नयाँ पार्टी रोजेका छन् ।त्यस्तै तर्केश्वर नगरपालिका वडा नम्बर २ का रविन्द्र केसी र वडा नम्बर ६ का वडा अध्यक्ष मधु कार्कीले नेकपा एसमा सनाखत गरेका छन् । टोखा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पनि नयाँ पार्टीमा खुलेको र आगामी २२ गतेसम्म काठमाडौंका धेरै जनप्रतिनिधिहरु आफूहरुको पार्टीमा सहभागी हुने अध्यक्ष मानन्धरले दावी गरे ।
काठमाडौंका ३५ जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी पार्टी
प्रतिक्रिया