सीमासम्बन्धी विषयमा एकतर्फी निर्णय नलिन प्रधानमन्त्री देउवालाई गठबन्धनको सुझाव

काठमाडौँ, १८ भदौ । सत्ता गठबन्धनका नेताले सीमासम्बन्धी विषयमा एकतर्फी निर्णय नलिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । सरकारले नाम्खा (हुम्ला) को सीमा क्षेत्र अध्ययन गर्न कार्यदल बनाएको भोलिपल्ट बिहीबार उनीहरूले चिनियाँ पक्षसँग संवाद गरेर सीमासम्बन्धी विषयमा अगाडि बढ्न सुझाव दिएका हुन् । गठबन्धनले बनाएको सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय सहमतिका आधारमा परराष्ट्र सम्बन्ध अगाडि बढाउने उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई भेटेर दुई देशको सम्बन्धमा नकारात्मक असर नपर्ने गरी नाम्खाको सीमाका विषयमा सुझबुझपूर्ण कदम चाल्न सुझाव दिएका थिए । कार्यदल गठनपूर्व छलफल गरी सहमति नजुटाएकामा उनीहरूले असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री देउवाले यस विषयमा गठबन्धनभित्र छलफल गर्ने र चिनियाँ पक्षसँग पनि समन्वय गरेर अगाडि बढ्ने आश्वासन दिएको एक नेताले बताए । तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीका विषयमा धारणा स्पष्ट गरेर भारतसँग कूटनीतिक संवाद गर्नुको सट्टा सरकारले अनावश्यक विषयमा हात हालेको नेताहरूको भनाइ छ ।

‘सोमबार बसेको पाँचदलीय सत्तारूढ गठबन्धनको बैठकमा सीमासम्बन्धी समिति गठनबारे चर्चा भएको थिएन । बुधबार अचानक समिति बनाइएको छ । अध्ययन गर्नु आफैंमा नराम्रो भएन तर समय अहिले नै किन रोजियो र गठबन्धनको पूर्ण बैठकमा छलफल किन भएन भन्ने प्रश्न उठ्यो,’ माओवादी केन्द्रका एक नेताले भने । उनका अनुसार कार्यदल निर्माणको निर्णय भइसकेकाले त्यही विषयलाई लिएर विवाद बढ्न नदिन प्रचण्ड , नेपाल र यादवले चिनियाँ पक्षसँग संवाद गरेर अगाडि बढ्न सुझाव दिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति