अमेरिका बाढी अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या ४१ पुग्याे

काठमाडौँ, १८ भदौ ।  अमेरिकामा आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीका कारण एकै परिवारका तीन जना नेपालीसहित कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत् दिएको जानकारीअनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बिहीबार बाढीमा परी मृत्यु भएको हो। उनीहरू अमेरिकाको न्युयोर्कमा बस्ने गर्थे।तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो। उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो।

न्युयोर्क टाइम्सका अनुसार कमजोर भइसकेको ठानिएको त्यही आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षा भएको थियो।अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए। ज्यान गुमाउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन्। बाढीमा केही कारहरू बगेका छन्।

वर्षासँगै आएको चक्रवातले केही घरका छाना पनि भत्काइदिएको छ। बाढीपछि न्युयोर्क सहरमा सबवे बन्द गरिएको छ। दर्जनौं उडान स्थगित भएका छन्। बिजुली अवरूद्ध भएपछि ती राज्यहरूमा जनजीवन अस्तव्यस्त भएको छ। पछिल्लो ९ वर्षमा सामुद्रिक आँधीको प्रभावले अमेरिकामा यति धेरै मानिस मरेको पहिलो पटक हो। सन् २०१२ मा स्यान्डी आँधीले पनि अमेरिकाको यो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति