मुसलमान समुदायकी जेवाः बनिन् डाक्टर

राजविराज, १५ भदौ । अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छिन् ।


पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि छन् । अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरु अगाडि बढ्न सक्दैनन् । तर अभिभावकले सहयोग गरेमा यो समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बनेकी छिन् खातुन । उनले हालै एमबिबीएस उत्तीर्ण गरेकी हुन् । जिल्लाको खड्क नगरपालिका–८ कल्याणपुर निवासी फिरोज खान र यास्मिन सुल्तानको पहिलो सन्तानका रूपमा जन्मिनुभएकी खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्तीर्ण गरेकी हुन् ।


एमबिबीएस उत्तीर्ण गर्नुको श्रेय भने उनी आफ्ना आमाबुबालाई दिन्छिन् । “शायद उहाँहरुले नपढाउनुभएको भए आज चिकित्सक बन्ने थिइनँ”, उनी भन्छिन्, “बल्ल मेरो सपना पूरा भएको छ ।” आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि साह्रै खुसी लागेको खातुन बताउन्छिन् । नर्सरी कक्षामै पढ्दाखेरी सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा आफ्नो दिमागमा खेलिरहेको उनी बताउन्छिन् । त्यो कुरा दिमागमा बसिरह्‍याे र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लाने खातुनले भने । उनले वि. सं. २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे भने विराटनगरबाट उच्च मावि उत्तीर्ण भएलगत्तै उहाँले मेडिकल प्रवेश परीक्षाका लागि तयारी थाले । परीक्षा त दिए तर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनन् । उनी भन्छिन् , “तैपनि आमाबुवाले पूरै रकम तिरेर मलाई पढाउनुभयो ।”


एमबिबीएस उत्तीर्ण गरेपछि उनी अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहेकी छिन् । उनका बुबा कल्याणपुर बजारका व्यवसायी छन् भने आमा खड्क नगरपालिकाका उपप्रमुख छिन् । आमाबुवाले सधैँं आफूलाई प्रोत्साहन दिँदै सहयोग गर्दै आएकै कारण आज आफूले एमबिबीएस उत्तीर्ण गरेको उनी बताउन्छिन् । इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उनले सोच बनाएका छिन् । “जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु”, उनले भनिन् । एमबिबीएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने लक्ष्य उनले राखेकी छिन् ।छोरी पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्दै उनी हरेक छोरीलाई पढाउनुपर्ने बताउन्छिन् । “हरेक छोरीमा कुनै न कुनै गुण हुन्छ, प्रतिभा हुन्छ”, उनी भन्छिन्, “तर सानै उमेरमा विवाह गरिदिएपछि ती प्रतिभा प्रष्टफुटित हुन पाउँदैन । उनीहरुको सपना तुहिन्छ ।” प्रत्येक अभिभावकले आफ्नो छोरीलाई शिक्षा दिए देश परिवर्तन हुन समय नलाग्ने र महिला पनि जागरुक बन्दै जाने उनको विश्वास छ ।


जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाइरहेका छन् । जेवाकी माहिली बहिनीले पनि मेडिकलकै तयारी गरिरहेका छन् । तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उनी बताउन्छिन् । “म चाहन्छु हरेक अभिभावकले आफ्ना छोरीलाई पढाउन् र विश्वास गरुन्” उनी भन्छिन्, “आज मेरो अभिभावकले ममाथि विश्वास नगरेको भए म अगाडि नै बढ्ने थिइनँ, मधेशभित्रको मुस्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटे पनि मधेसमा तुलनात्मकरूपमा मुस्लिम महिला सामाजिकरूपमा पछाडि नै छन् । अरुले पनि यो कुरा बुझ्नुपर्छ र, छोरीलाई पढाउनुपर्छ ।”


मुस्लिम समुदायबाट जेवाले एमबिबीएस उत्तीर्ण गरेपछि उनका छरछिमेक पनि खुशी छन् । छिमेकी अनवर अलीले यो सफलता उनको मात्र नभई मुस्लिम समुदायकै पनि भएको बताउन्छिन् । “जेवाजस्तै सबै महिलाले मेहनत गर्नुपर्छ र अभिभावकले पनि त्यसमा साथ दिनुपर्छ”, उनी भन्छिन्, “यसो गर्न सकिए समाज चाँडो परिवर्तन हुन्छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति