सुर्खेत, १५ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिएका छन् ।
सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’ ज्ञवालीले माधव नेपाललाई चुनौती दिंदै अघि थपे, ‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ । एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस् ।’ माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै उनले कुनै दिन उनले त्यो महसुस गर्नेसमेत बताए । ‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ,’ संयोजक ज्ञवालीले माधव नेपालाई प्रश्न गरे, ‘एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’संयोजक ज्ञवालीले माधव नेपालसहितको एकताको प्रयास गरेपनि असफल भएकोे पनि बताए ।
पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गरे पनि माधव नेपाल कुनै पनि हालतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएर बस्न नसक्ने निर्णयमा पुगेपछि आफूहरुले नेपालको साथ छोडेर १० बुँदे कार्यान्वयनमा लागेको बताए ।
विगतमा नेपाल निकट मानिएका नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनु हुन्न अन्तर संघर्ष गरौं भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नु परेको बताए । मंगलबार सुर्खेतमा एमालेको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका कार्यकर्तालाई समेत आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्न आग्रह गरे ।‘जनताप्रति उत्तरदायी बनौँ, विवेक पुयाएर, संयम भएर, धैर्यका साथ बोल्नुपर्छ,’ उनले भने, ‘रिस उठ्यो भन्दैमा जे मन लाग्यो त्यो गर्नु हुँदैन । जिम्मेवार मान्छेले जिम्मेवार व्यवहार गर्नुपर्छ । व्यवहार र बोलीवचन जिम्मेवार हुनुपर्छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशनअनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न नेता ज्ञवाली कर्णाली प्रदेशमा छन् ।
प्रतिक्रिया