भारतीय टोली नेपालमा : कप्तान सुनिल क्षेत्रीले भने– हजुरबा, हजुरआमाको देशमा खेल्न पाउँदा खुसी लाग्छ

काठमाडौं, १४ भदौ ।  नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली सोमबार नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित अंश

नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्दै हुनुहुन्छ । साफ अगाडिको तयारी खेललाई कसरी लिनु भएको छ ?

नेपालमा आएर खेल्न पाउँदा खुसी छौं । मैत्रीपूर्ण खेल खेल्न नेपालसँग त्यति सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्त्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थमा पनि नेपालले राम्रो हस्पिटालिटि दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौं । मैत्रीपूर्ण खेल नेपालसँग खेल्न पाउँदा खुसी लागेको छ ।

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ ?

यसअघि पनि नेपालसँग खेलेका छौं । नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ । एएफसीमा आर्मीले राम्रो गरेको छ । नेपालले सधै राम्रो खेल्ने गर्छ । अहिलेको अवस्था नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ । राम्रो गर्ने टोली छ ।

अहिलेको अवस्थामा कोरोना व्याप्त छ । कठिन अवस्थामा पनि भारतले साफ तयारीलाई कसरी अगाडि बढाएको छ ?

अहिले हाम्रो अवस्था निकै कठिन छ । कठिन तरिकाले हामी अगाडि बढिरहेका छौं । किनभने भने हाम्रो लिग खतम भइसकेको छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफका लागि खेलाडी पर्याप्त मात्रामा अभ्यासमा थिएनन् । दुई हप्तादेखि तयारी गरेका छौं । सिनियर खेलाडी पनि कमैमात्र छन् ।

नेपालसँग हुने दुई मैत्रीपूर्ण खेल हाम्रो लागि निकै महत्त्वपूर्ण छन् । यी दुई खेलपछि हामी साफका लागि माल्दिभ्स जाने हो । अहिलेको अवस्थामा धेरै सिनियर खेलाडी एएफसी कपमा खेलेका छन् । दुईवटा क्लबका ८ खेलाडी माल्दिभ्समा खेलिरहेका छन् । जसका कारण हामी समयमा नै अभ्यास थाल्न सकेनौं । जुनियर खेलाडी टोलीमा समावेश भएका छन् । उनीहरुको प्रदर्शनबाट कोच सन्तुष्ट छन् ।

राम्रोभन्दा राम्रो खेल्ने हाम्रो लक्ष्य छ । म पनि पछिमात्र टोलीमा आबद्ध भएको हुँ । कोचलाई मात्र थाहा छ, को खेलाडी खेलाउने को खेलाडीलाई नखेलाउने भन्ने ।

नेपालमा तपाईंका फ्यान पनि धेरै छन् । नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ ?

नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजुरबा, हजुरआमा यहीबाट हुनुहुन्थ्यो । ममी पनि यहीँबाट हुनुहुन्छ । यस्तो अवस्थामा पनि सबैजना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दैछ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board