काठमाडौं, १४ भदौ । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको शाक्यले जानकारी दिए । देउवालाई भेट्न सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए ।
मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने सडक निर्माणका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए । सडक निर्माणका लागि महानगरले नै खर्च व्यहोर्ने पनि उनले बताए ।‘सिसडोलसम्म फोहोर बोकेका गाडी पुर्याउ सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्यौं ।
उहाँले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउने काम थाल्न निर्देशन दिनुभयो’ मेयर शाक्यले भने ।शाक्यले बञ्चरे डाँडाको ल्याण्डफिल साइट छिटो निर्माण सक्ने वातावरण बनाइदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण नसकिएको र त्यहाँ पुग्ने सडक पनि नबनेको उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । सामान्य अवस्थामा फोहोर बोकेका १५० वटा ट्रक सिसडोल ल्याण्डफिल साइटमा दैनिक पुग्ने गरेकामा हिजोआज वर्षाका कारण सडक बिग्रिँदा ५० वटा ट्रक मात्र जाने गरेका छन् । जसले गर्दा उपत्यकाका चोक र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।

प्रतिक्रिया