काठमाडौं, १४ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव राखेका छन्।नवगठित पार्टीमा दुई अध्यक्ष पद राखेर एउटामा आफूलाई कायम गर्नुपर्ने अडान प्रस्तावमा गौतमले राखेका हुन्। समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केही दिनअघि सहमतिको खाका पठाएर उनले पार्टीमा सहभागी हुन तीन बुँदे प्रस्ताव राखेको स्रोतले जनाएको छ।
तर, वामदेवको उक्त प्रस्तावलाई अध्यक्ष नेपालले स्वीकार गरिसकेका छैनन्। बरु नेपालले गौतमको प्रस्तावबारे पार्टीमा छलफल गरेको जवाफ दिँदै साथीहरुले अस्वीकार गरेको जवाफ दिएका छन्।
उनले अहिले पनि तटस्थ बसेर ओली र नेपाल दुवैतिर बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ। गौतमले पत्नी तुल्सालाई भने नेपालको समाजवादीतिर खुल्न पठाएका थिए।एमालेका महत्वपूर्ण बैठकमा सहभागी नभएकाले गौतम माधव नेपालले गठन गरेको समाजवादीमा जान लागेको चर्चा भइरहेको छ। तर, समाजवादी पार्टीमा लाग्नको लागि गौतमले अध्यक्ष र सह(अध्यक्षको प्रावधान हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यसमा सह–अध्यक्ष आफूलाई बनाइनुपर्ने पहिलो प्रस्ताव गौतमले राखेका छन्।
यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्ने लिखित प्रस्ताव पनि गौतमले पठाएका हुन् ।
‘पार्टीमा दुई अध्यक्षको व्यवस्था हुनुपर्छ,’ गौतमले पठाएको गौतमको प्रस्ताव उल्लेख गर्दै उनीनिकट स्रोतले भन्यो, ‘राजनीतिक प्रस्ताव भनेर गौतमले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन, केन्द्रीय कमिटीबाट पदाधिकारी चयन गर्नुपर्ने प्रस्ताव पठाउनुभएको छ।’
तर अध्यक्ष नेपालनिकट स्रोतका अनुसार गौतमको तीन बुँदे प्रस्तावमध्ये पहिलो प्रस्ताव नेपाल पक्षले अस्वीकृत गरिसकेको छ। ‘तपाईंको प्रस्ताव म साथीहरुसँग राखेको थिएँ’ अध्यक्ष नेपालले गौतमलाई दिएको जवाफबारे उनीनिकट एक नेताले भने, ‘तर, साथीहरुले दुई अध्यक्षको व्यवस्था गर्दा झमेला हुने भनेर मान्नुभएन।’तर गौतमले नेपालको त्यस जवाफलाई लिएर असन्तुष्टि जनाएका छन्। ‘साथीहरुले मानेन भनेर माधवजीले आफूले नमानेको कुरा साथीहरुको टाउकोमा हाल्नुभएको छ,’ गौतमले आफूनिकट नेताहरुसँग गरेको ब्रिफिङ सुनेका एक नेताले भने।
प्रतिक्रिया