काठमाडौं, १४ भदौ । लगातारको वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु भएको छ ।वर्षापछिको बाढीपहिरोले दार्चुलाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो ।
पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।गएराति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो । यस्तै, दुहुँ गाउँपालिका–५ दुल्लामा बाढीले बगाउँदा मनुवा डडालको पनि मृत्यु भएको छ ।कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो। बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको छ।निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन्। निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए । यस्तै, निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ।
प्रतिक्रिया