देउवासँगको सहमतिपछि चाक्सिबारीमा जिल्ला सभापतिसँग छलफल गर्दै पौडेल पक्ष

काठमाडौं, १२ भदौ । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो ।

सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा शनिबार बिहान सुरु भएको छलफलमा पौडेल समूहका शीर्ष नेताहरुसँगै केहि जिल्ला सभापतिहरु पनि सहभागी छन् ।

बैठकमा नेता पौडेल, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, डा. शेखर कोइरालालगायत छन् भने नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, बर्दिया सभापति सञ्जय गौतम सहभागी छन् ।

‘सभापतिसँग सकारात्मक कुरा भएको छ, जिल्ला सभापतिहरुले उठाउँदै आएका मागकाप्रति उहाँ सकारात्मक हुनुहुन्छ,’ पौडेल समूहका एक नेताले भने, ‘क्रियाशील सदस्यतालाई लिएर कतिपय विषय टुंगोमा पुग्न बाँकी छ । यी सबैलाई चाँडो सुल्झाएर अधिवेशन प्रक्रियामा सहभागी हुने हामीहरुबीच समझदारी भएको छ ।’शुक्रबार बिहान बसेको पौडेल पक्षका नेताहरुको बैठकले क्रियाशील सदस्यता, जिल्ला सभापतिहरुको अनशन र अधिववेशनका बारेमा सभापति देउवासँग भेटेर छलफल गर्ने निर्णय गरेको थियो । पौडेल समूहका नेताहरु शुक्रबार साँझ बालुवाटार पुगेका थिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबारसम्म ४८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति