काठमाडौं, १२ भदौ । मनसुन सुरु भएयता (गएको जेठ ३१ पछि) देशभर मनसुनजन्य घटनामा ८५ जनाको ज्यान गएको छ । ती घटनामा परेर अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।अहिलेसम्म पाँच हजार पाँच सय जनाभन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले बताए ।
गृह मन्त्रालयमा गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रवार बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिए । शुक्रवारमात्रै बाढीबाट चार सय जना प्रभावित भएका र उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । शुक्रवार तीन जनाको ज्यान गएको छ र तीन जना बेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढी पहिराले क्षति पुर्याएको ३८ जिल्लामा पुनर्निर्माण गर्न एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
महाशाखा प्रमुख पाण्डेले बाढी पहिरोका कारण आज साना–ठूला गरेर २९ सडक बन्द भएको जानकारी दिनुभयो । केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्री खाणले पछिल्लो समय देशभर आएको बाढी पहिरोका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिए् । बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्ड, तुरिया र घोडाहा खोलामा रहेको दुई पुल भत्किएको तथा सडक बन्द भएको र त्यस ठाउँमा तत्काल बेलिब्रिज बनाउन निर्देशन दिए ।
प्रतिक्रिया