धौलागिरीका १७ सांसद एमालेमै, १ सांसद मात्रै समाजवादीमा

बागलुङ, ११ भदौ । लामो आन्तरिक विवाद र रस्साकस्सी पश्चात नेकपा एमाले अन्ततः विभाजित भएको छ । नेकपा एमाले विभाजित भएर माधव नेपाल नेतृत्वमा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी बने पछि नेताहरुका बिचमा कुन कित्तामा पल्लाभारी हुन्छ भन्ने हिसाब किताब सुरु भएको छ । यो एमाले र विभाजित वृत्तमा त प्रतिष्ठानको विषय छ नै, अन्य दलका नेता, कार्यकतालाई पनि यस विषयमा स्वभाविक चासो देखिएको छ ।

देशमा नयाँ संघीय अभ्यास सँगै तीन तहको पहिलो पटक भएको निर्वाचनबाट पहिलो पार्टी बनेको एमाले विभाजन हुँदा नेपाल नेतृत्वको पार्टी संसदको चौथो ठुलो दल बनेको छ । धौलागिरीबाट संघीय र प्रदेश सांसदहरुको विभाजन पछिको अवस्था हेर्दा ठुलोे हिस्सा एमालेमै रहने देखिएको छ । संघिय ससंदमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी धौलागिरीका एमालेका ८ जना सांसद रहेकोमा एक जना मात्रै नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा खुलेर लागेका छन् । गण्डकी प्रदेश सांसद रहेका धौलागिरीका ८ जना प्रदेश सांसदमा सबै एमालेमै रहने भएका छन् ।

एमालेको समानुपातिक तर्फबाट राष्ट्रिय सभा सदस्य बन्नुभएकी बागलुङकी शान्ति अधिकारी आफु नेकपा एकीकृत समाजबाद पार्टीमा प्रष्ट रुपमा लागेको बताईन । पार्टीको विधान र संविधान विपरित पार्टी अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेको र घरको मुलीले सबैलाई एकसाथ अघि बढाउन नसकेका कारणले नयाँ बाटो खोज्नुपरेको उनको भनाई छ ।

नयाँ पार्टीमा लाग्दा आफुलाई पैसाको प्रलोभनमा परेको आरोप लगाइए पनि त्यो केबल अफवाह भएको अधिकारीको भनाई थियो । ‘एमालेबाट सांसद बने पनि अहिले एक ठाउँ रहने अवस्था बनेन, त्यसकारण एकिकृत समाजबादी पार्टीबाट तिर लागेको हुँ,’ उनले भनिन्, ‘म पैसाको पछाडि होइन, विचारका पछि लागेको हुँ, पार्टीको उद्देश्य देशमा समाजबाद ल्याउनु हो । म एक्लै भए पनि समाजबादी पार्टीमा लाग्छु ।’

मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेम प्रसाद तुलाचनले भने २०७४ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट मुस्ताङमा सदस्यता लिएर एमालेबाटै टिकट पाएर देशको सेवामा हिँडेकोे हुनाले एमाले नछोड्ने बताए । लामो समय सम्म नेपाली कांग्रेसमा रहेर राजनीति गरेको तर एमालेको काम र देश प्रतिको मायाले गर्दा एमालेमा प्रवेश गरेकाले मुलधार सधै मुलधार हुने तुलाचनको भनाई छ ।

नेकपा एमालेबाट निर्वाचित भएर देश र जनताको लागि सेवा गर्ने मौका पाएको र यो समयमा आफु दाया बाया नगर्ने बताए । मुस्ताङका तुलाचनसंगै बागलुङका संघीय सांसद डा।सुर्य पाठक, मनकुमारी केसी, पर्वतका राष्ट्रिय सभा अध्यक्ष रहेका गणेश तिमिल्सिना, पदम गिरी, म्याग्दीका थममाया थापा र भुपेन्द्र थापा भने एमालेमै रहेका छन् ।

गण्डकी प्रदेश सभामा माधव नेपाल समुहका एक मात्र सांसदको रुपमा रहेको इन्द्रलाल सापकोटाले पनि अब उक्त समूहबाट बनेको नयाँ पार्टीमा आफु नजाने बताए । पार्टी एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वयनमा आएकाले अब एमालेमै रहेर संघर्ष गर्ने सापकोटाले बताए । पार्टीमा लामो समय देखि विभिन्न समस्या रहेको र ती समस्याको समाधानका लागि पार्टी भित्रै आन्तरिक जनवादको माध्यमबाट संघर्ष गर्ने बताए ।

‘पार्टी भित्र समस्याहरु छन्, समस्याको हल विभाजन थिएन र होइन’ एमाले जिल्ला अध्यक्ष समेत रहेका सापकोटाले भने , ‘पार्टी भित्रै रहेर आफ्नो मत राख्ने अवसर पाएसम्म विभाजन गर्ने कुराले मुलुकलाई फाइदा हुँदैन, मुलुकको आवश्यकता धेरै कम्युनिष्ट पार्टी होइन, बरु कम्युनिष्ट पार्टी भित्र देखिएका समस्याको अन्त्य गर्ने हो, यसमा लाग्ने हो ।’

मुलुकमा अहिलेको आवश्यकता एमाले बाहेक बामपन्थीहरुको पनि एकता रहेको हुनाले मुलुकको परिर्वतनका लागि वृहत्तर बामपन्थीलाई एकसाथ लिएर जाने सामथ्र्य एमालेमा रहेको सापकोटाले बताए । एमालेलाई एमाले जस्तो बनाउनका लागी आफु एमालेमै रहेको उनको दाबी छ ।

सापकोटा सहित गण्डकी प्रदेश सभा संसदमा पर्वतका विकास लम्साल, जुनादेवी नेपाली, म्याग्दीकी नरदेवी पुन मगर, बागलुङकी सावित्री राना, मुस्ताङका इन्द्रधारा विष्ट, चन्द्रमोहन गौचन र महेन्द्र बहादुर थकाली रहेका छन् । । माधव नेपाल समूहमा सक्रिय सांसद सापकोटा एमालेमै रहने भए पछि गण्डकी प्रदेशका सबै सांसद मुलधारकै पार्टीमा एकढिक्का रहने भएको छ ।

पर्वतबाट गण्डकी प्रदेश सांसद रहेकी जुनादेवी नेपालीले आफ्नो राजनीतिनै एमालेबाट सुरु भएकाले एमाले बाहेक अन्य पार्टीमा जाने कहिल्यै नसोचेको बताइन । ‘कोही साथीहरु चोईटिएर जानुहुन्छ भने हामी पनि पछि लाग्नु पर्छ भन्ने छैन,’ उनले भनिन , ‘अहिलेको सन्दर्भमा एमालेको विकल्प खोज्नु मुर्खता हो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति