अफगानिस्तानबाट उद्धारको प्रक्रिया अन्तिम चरणमा : ९०० नेपाली स्वदेश फर्किए


काठमाडौं, भदौ । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् ।थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट उद्धार भई नयाँ दिल्ली आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी अफगानिस्तानका विभिन्न स्थानबाट उद्धार गरी ४२ जना नेपाली नागरिकलाई काबुल विमानस्थल नजिक ल्याएर राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु सबैजना सुरक्षित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ,’विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकीकृत गरिएका नेपाली नागरिकलाई विमानसम्म पुर्‍याउनको लागि विभिन्न तहमा समन्वय भइरहेको छ ।’यस बाहेक ४६७ जना नेपाली सुरक्षा गार्डहरु युनाइटेड नेसन्स एसिसटेन्ट मिसन र युनिसेफमा सुरक्षा गार्डको रुपमा काम गरिरहेको छन् । उनीहरुमध्ये १०० जनाले घर आउन बिदा लिएका छन् र उनीहरुको छिट्टै नेपाल आउने छन् । तर बाँकी सुरक्षाकर्मीहरुको हकमा भने उनीहरुले घर फर्कने इच्छा व्यक्त गरेका छैनन् ।यद्यपि नेपाल सरकार उनीहरुको सुरक्षाको बारेमा आश्वस्त हुन खोजिरहेको छ । अफगानिस्तान मामिला हेर्ने नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार ‘दुवै कार्यालयमा काम गर्ने नेपालीहरु क्याम्पमा हुनुहुन्छ र पूर्ण रुपमा सुरक्षित हुनुहुन्छ ।

‘सरकारले अफगानिस्तानको ग्रिन जोनमा काम गर्नका लागि मात्र श्रम स्वीकृति दिने गरेको छ । यस बाहेक अनियमित बाटोबाट गएका र पर्याप्त कागजात नभएकाहरुलाई कागजात बनाएर उद्धार गरिएको छ । अनियमित बाटोबाट गएका र अफगानिस्तानमा प्रवेश गरिसकेपछि काम परिवर्तन गरेका कारण उनीहरुलाई उद्धार गर्न केही कठिनाइ उत्पन्न भएको हो ।केहीसँग राहदानी समेत नभएका कारण यात्रा अनुमति पत्र जारी गर्न केही समय लागेको छ । अफगानिस्तानमा मूलत सुरक्षा गार्डको रुपमा नै नेपालीहरु जाने गरेका छन् अन्य कामको लागि श्रम स्वीकृति दिने गरिएको छैन् । धेरै नेपाली अमेरिका, क्यानडा, वेलायत, जापानलगायतका दूतावासमा काम गरिरहेका थिए भने अन्य नेपाली युनिसेफ, त्यहाँको राष्ट्रसंघ कार्यालय लगायतका कार्यालयमा काम गरेका थिए ।तालिबानले अगष्ट ३१ भित्रै सबै विदेशी सेना पूर्ण रुपमा फिर्ता हुनुपर्ने समय सीमा तय गरेपछि त्यस अगाडि नै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुको उद्धार गरिसक्नुपर्ने दबाबमा सरकार परेको छ । तालिबानका प्रवक्ता सुहेल साहेनले ३१ अगष्टपछि अमेरिका, बेलायतलगायतका मुुलुकका सेना र नागरिक पूर्ण रुपमा बाहिरिनुपर्ने बताएका छन् । यद्यपि कुनै पनि कानूनी कागजात भएको व्यक्ति ३१ अगष्टको समय सीमापछि पनि कमर्सियल विमानद्धारा बाहिर जानसक्ने बताएका छन् ।अफगानिस्तानमा रहेका नेपालीहरु उद्धार गर्नका लागि सरकारले अगष्ट १५ मा विभिन्न मन्त्रालयका प्रतिनिधिहरु रहेको एक कार्यदलको गठन गरेको थियो र सो कार्यदलले निरन्तर काम गरिरहेको छ । काबुलमा नागरिक उड्यन सेवाको जहाजको आगमन अवतरण अहिलेसम्म खुलिसकेको छैन् ।त्यसैले नेपालीहरुको उद्धारको लागि नेपालले अन्य मुलुकहरुलाई आग्रह गर्नु परेको छ । नेपाल नागरिकहरुलाई उद्धार गर्नका लागि भारत, अमेरिका लगायतका विभिन्न मुलुकहरुले सहयोग गरिरहेको एक सरकारी अधिकारीले बताए । अफगानिस्तानमा उद्धार पुन बाँकी कोही भएमा तत्काल सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ ।विभिन्न मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको प्रक्रिया सकेका छन् । बीबीसीका अनुसार क्यानडा र युरोपेली युनियनका मुलुकले उद्धार प्रक्रिया सकिएको जानकारी दिएका छन् । अमेरिकाले भने उद्धारको प्रक्रिया अगष्ट ३१ सम्म जारी रहने बताएको छ । अहिले पनि विमानस्थलमा अफगानिस्तान छोड्न चाहनेको ठूलो भिड रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति