काठमाडौं , ११ भदौ । बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।
डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उनले भने, “थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।” अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।
सिन्धुपाल्चोक– लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गर्नुभएको छ । अहिले मेलम्चीबाट काठमाडौं र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन् । यसअघि पनि यस ठाउँमा निरन्तर पहिरो खरिरहेको छ ।
त्यस्तै, अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताए ।
यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।
अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पु¥याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताए ।
प्रतिक्रिया