जनप्रतिनिधिलाई भदौ २९ गतेसम्म नयाँ पार्टीमा जाने विकल्प खुला

काठमाडौँ, १० भदौ । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा बस्ने भन्ने छान्न पाउने भएका छन्।

निर्वाचन आयोगले बुधबार राति नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई दर्ता गरेको थियो। सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेशले नयाँ दल गठन भएको २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था गरेको छ।

नयाँ दल गठन भएको २१ दिनभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भई सनाखत गर्नुपर्नेछु, राजनीतिक दलसम्बन्धी ऐनको नियमावलीमा भनिएको छ, सनाखत गरिएको विवरण सम्बन्धित निर्वाचन कार्यालयले ७ दिनभित्र आयोगमा पठाउनुपर्नेछ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) को दर्ता दिन भदौ ९ गते भएको बताए। हिजैदेखि २१ दिनको म्याद सुरू हुन्छ। उहाँहरू आजैबाट निर्वाचन आयोगको प्रदेश र जिल्ला कार्यालयमा गएर सनाखत गर्न सक्नुहुन्छ,’ श्रेष्ठले भने।राजनीतिक दलसम्बन्धी ऐनअनुसार २१ दिनभित्र माधव नेपालको पार्टीमा जाने प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधिलाई दल त्याग अनुसार कारबाही हुने छैन।

त्यसपछि पार्टी छाड्नेको हकमा पार्टीले कारबाही गर्न पाउनेछ। एमालेमै रहने कि नेपाल नेतृत्वको नयाँ पार्टीमा जाने भन्ने विकल्प खुला भएपछि विभिन्न प्रदेशमा प्रदेश सभा सदस्यहरू को–कता जान्छन् भन्ने चासो बढेको छ। माधवकुमार नेपाल पक्षका सांसदहरूलाई एमालेमै राख्न प्रयास भइरहेका छन्। नयाँ दल दर्ता भएपछि संघीय संसदका सांसदहरूले भने नयाँ पार्टी छान्न पाउँदैनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति