भारतबाटै झलनाथको सम्बोधन, दोस्रो तहका १० नेताको चर्को आलोचना (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, ८ भदौ । भारतमा उपचाररत नेता झलनाथ खनालले माधवकुमार नेपाल समूह छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरुको चर्को आलोचना गरेका छन् ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकलाई आज टेलिफोनमार्फत सम्बोधन गर्दै उनले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताए । मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रुप भएको भन्दै उनले यसले अन्तिम विश्लेषणमा दक्षिणपन्थलाई नै सघाउने र मध्यपन्थको आयु लामो नुहने जिकिर गरे ।

दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उनको भनाइ थियो । अस्पतालको शय्याबाटै सम्बोधन गरे खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने जानकारी समेत दिए ।

यसैबीच एमाले विभाजन गरी नयाँ दल निर्माणको पक्षमा खुलेका नेता झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गर्न नपाउने भएका छन् । खनालले भारतस्थित नेपाली दूतावासमार्फत नयाँ पार्टी दर्ताको लागि सनाखत गराइ निवेदन दिए पनि निर्वाचन आयोगले भने सशरीर उपस्थित नहुनेको सनाखत नगर्ने निर्णय गरेको हो ।

भारतमा उपचाररत खनालको सम्बोधनको पूर्णपाठ :

मेरो स्वास्थ्य मैले चाहेको जस्तै हुन थालेको छ । म अब सोमबार काठमाडौं आइपुग्दैछु । योबीचमा नेपालको राजनीति उथलपुथलबाट अगाडि बढेको छ । हाम्रो गौरवमय पार्टी नेकपा एमालेमा उथलपुथल, विभाजन, विद्रोहको रूपमा अघि बढेको छ ।

अहिले हामीहरू अहिले नयाँ पार्टी निर्माण गर्ने ठूलो अभियानमा अगाडि बढ्दै छौँ । हाम्रो पार्टीको नवौँ महाधिवेशन जतिखेर सम्पन्न भयो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सही विश्लेषण गर्नुको साथसाथै पार्टी नयाँ उचाईमा आइपुगेको, नेपाली समाज पुँजीवादी समाजमा रूपान्तरण भएको, र, अब समाजवादको बाटोतर्फ अगाडि बढ्ने कुरा महाधिवेशनले निर्णय गरेको थियो ।

तर, महाधिवेशनबाट निर्वाचित केपी ओलीको नेतृत्वले सुरुवाती देखिनै पार्टीका कार्यदिशा, नीति, सिद्धान्त, विधिविधान, कार्यक्रम र निर्वाचन घोषणापत्रलाई उल्लंघन गर्ने काम गर्यो । त्यसले दक्षिणपन्थी अवसरवादको बाटो लियो । अहंकारको बाटो लियो । त्यसले व्यक्तिवादको बाटो लियो । यि अत्यन्त अवसरवादको रूप हुन् । यि अवसरवादले निरन्तर पार्टीलाई गाँज्दै लग्यो । र, पार्टीको वैचारिक विकास, राजनीतिक विकास, सांगठनिक विकास, कार्यशैलीगत विकास सम्पूर्ण रूपले ठप्प भयो ।

पार्टीभित्र बाढीको पानी पसेझैँ बुर्जुवा विकास व्यापक रूपले प्रवेश गर्न थाले । पार्टी नेतृत्वमा भएको दक्षिणपन्थी रूपान्तरणले पार्टीभित्र गुटबन्दीलाई व्यापक बनाउँदै लग्यो । व्यक्ति स्वार्थलाई व्यापक बनायो । बुर्जुवा कार्यशैली फैलदै गयो । त्यसले गर्दा एमालेको अग्रगति, प्रगति, समृद्धि, विस्तार ठप्प हुन गयो । पार्टी सदस्यता विस्तार ठप्प, संगठनात्मक विस्तार ठप्प, जनवर्गीय संगठनको निर्माण र विकास ठप्प भयो । सबैिितर विभाजनका रेखा कोरिँदै गए ।

हाम्रा सामु जतिबेला पछिल्लो निर्वाचन सम्पन्न भएको थियो । हामीले दुई तिहाई बहुमत प्राप्त गरेका थियौँ । हामी समाजवादको बाटो र आधार निर्माण गर्दै अघि बढ्ने उज्जवल सम्भावनाको सामु थियौँ । आज त्यही दक्षिणपन्थी नेतृत्वले गर्दा ति सबै सम्भावना समाप्त भएको छ। हामीले फेरि मिहिनेत गरेर मात्रै त्यो सम्भावनाको ढोका फेरि खोल्न सक्छौँ ।

हामीले यथोचित पार्टी बनाइसकेका थियौँ । जस्तो सुकै प्रक्रियाबाट भएपनि दुईवाटा पार्टी एक बनाएका थियौँ । आज त्यो एकता भताभुंग, लथालिंग भएको छ । त्यही अवसरवादी नेतृत्वको कारणले हो । कमरेडहरू, हामीले अब दुई तिहाई बहुमत प्राप्त गरेको संसद निर्माण गरेका थियौँ । हामीले चाहेका जस्ता सुकै कानूनहरू, नीतिहरू, कार्यक्रमहरू त्यहाँबाट पारित गर्न सक्थ्यौँ । तर, ४१ महिनासम्म शासन गर्दा केपी ओलीले पार्टीलाई पूरै लत्याएर, आफ्ना व्यक्तिगत हुकुम चलाउने, मनपरीतन्त्र चलाउने काम गरे । सरकारका नीति तथा कार्यक्रम आए, ति कसरी आए एमालेले थााहा पाएन ? बजेट ल्याइयो, कसरी ल्याइयो पार्टीलाई थाहा भएन ? हाम्रो घोषणापत्रले एउटा कुरा भन्यो, पूर्व जानुपर्छ भन्यो केपी ओलीले दक्षिण तिर हिँडाए । हाम्रो पार्टीले समाजवादतर्फ जानुपर्छ भन्यो, उनले घिनौना दलाल पुँजीवादको घेराभित्र पार्टीलाई चक्कर काट्दै लगे । यसले गर्दा पार्टीको विकास अवरुद्ध भयो ।

कमरेडहरू, यो अवरोधपछि हामीले पार्टीलाई पुर्नगठन गर्ने पहलकदमी दियौँ । पाँच हजार कार्यकर्ता भेला गरेर हामीले पार्टीलाई पुर्नगठन गर्ने प्रतिवद्धता जाहेर गर्यौँ । त्यो प्रतिवद्धता जाहेर गर्ने धेरै नेता हुनुहुन्थ्यो । जसमध्ये केही नेताहरू, जसलाई हामीले दोस्रो पुस्ता भन्थ्यौँ । ति दोस्रो पुस्ताका साथीहरू अहिले कुण्ठा, मोहमा पुग्नुभएको छ । त्यसको पनि विश्लेषण गर्नुपर्ने हुन्छ ।

आज हामी जुन ठाउँमा आइपुगेका छौँ । यो दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोहको समय हो । हामी विद्रोहमा छौँ । विद्रोह भनेको पार्टी विभाजन होइन, पार्टीको विनाश होइन ।

कमरेडहरू, खास खास बेलामा ठूला ठूला विद्रोह हुने गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विद्रोहको एउटा इतिहास हो । माक्र्सले पहिला प्रथम इन्टरनेशनल बनाए । तर, त्यो अवसरवादले कब्जा गर्यो । माक्र्सका घोषणापत्र लागु गर्न दिएन । जसले गर्दा उनले विद्रोह गरेर फस्र्ट इन्टरनेशनल विघटन गर्नु पर्यो । त्यो एउटा विद्रोह थियो । के त्यसपछि कम्युनिष्ट आन्दोलन ध्वस्त भयो ? भएन । माक्र्सवाद झन् झन् व्यापक रूपले फैलिएर गयो । कम्युनिष्ट घोषणापत्र सयौँ भाषामा उल्था भयो । झन् फैलियो ।

फ्रेडरिक एंगेल्सले सेकेन्ड इनटरनेशनल बनाए । तर, उनी अवसरवाद मुक्त थिएनन् । जब लेनिनको पालो आयो । उनले रुसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थति हेरेर एउटा देशमा मात्रै पनि समाजवाद निर्माण गर्न सकिन्छ भनेर साम्राज्यवादको अन्त्य विरुद्ध अघि बढ्नुपर्छ भनेर सिद्धान्त अघि सारे । यो माक्र्सवादी सिद्धान्त थियो ।

तर, सेकेन्ड इनटरनेशनलका अवसरवादीहरूले लेनिनलाई उल्टै कारवाही गर्न खोजे । उनीहरूले त्यो कुरा अघि बढ्न दिएनन् । त्यहाँ भित्र विद्रोह भयो । इन्टरनेशनल विघटन भयो । रुसमा क्रान्ति सफल भयो । अक्टोबर समाजवादी क्रान्तिले सिंगो विश्वमा नयाँ क्रान्तिको प्रवाह गर्यो । कम्युनिष्ट आन्दोलन विश्वव्यापी भयो । सोभियत संघको स्थापनामा अक्टोबर क्रान्तिमा गर्जिएका तोपका गडगडाहटले सिंगो विश्वलाई एकटपटक थर्कमान बनायो । कम्युनिष्ट आन्दोलन झन् फैलिएर गयो ।

त्यसैले विद्रोह भनेको विनाश होइन । यो न्यायपूर्ण हुन्छ । गलत कामका विरुद्ध, अवसरवादका विरुद्धको विद्रोह जहिले न्यायपूर्ण हुन्छ । हामी झापा विद्रोह भन्छौँ, त्यतिबेलाको झापा जिल्ला कमिटीले त्यतिबेलाको नेकपाका विरुद्ध गरेको विद्रोह थियो । त्यो विद्रोहका सकरात्मक पक्ष महत्वपूर्ण छन् । त्यो विनाश थिएन । त्यो झिल्कोले नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन प्रेरित गर्यो ।

ठीक त्यसरी नै नवौँ महाधिवेशनपछि नेतृत्व कब्जामा बसेको केपी ओलीका विरुद्ध आज हामी विद्रोहको विन्दुमा आइपुगेका छौँ । हाम्रो देशको इतिहासलाई हेर्ने हो भने दरभंगा प्लेनम केशर जंग रायमाझीको दक्षिणपन्थी अवसरवादका विरुद्धको विद्रोह थियो । त्यो विद्रोहले पार्टी निर्माण गर्नका लागि नयाँ परिस्थति निर्माण गर्यो । तर, सही क्रान्तिकारी वैचारिक दिशा जबसम्म विकसित भएन तबसम्म पार्टी पुर्नगठन र एकीकरणको दिशामा अघि बढ्न सकेन । २१ सालमा विभाजित भएको पार्टी ३६ सालबाट मात्रै वास्तविक पुर्नगठनको दिशामा अघि बढ्न सक्यो ।

यद्यपि, कमरेड पुष्पलाल, मनमोहनले विभिन्न प्रयत्न गरे । मोहनविक्रमले पनि गरे । तर, पर्याप्त हुन सकेन । ३६ सालमा हामीले सुरु गरेको कोओर्डिनेसन केन्द्र निर्माण गर्ने कामबाट नयाँ विद्रोही समुह जन्म्यो, त्यसपछि मात्रै सही वैचारिक क्रान्तिकारी दिशा बन्यो । त्यसको वरिपरि सबैलाई गोलबद्ध बनाउने क्रममा नेकपा माले, नेकपा एमाले बनायौँ । उचाईमा पु¥यायौँ ।

कमरेडहरू, अहिले हाम्रो पार्टीको अग्रगतिलाई जसरी रोकिएको छ त्यसको विरुद्ध विद्रोहको विन्दुमा आइपुगेका छौँ । यो विद्रोह हो, सिर्जनात्मक विद्रोह हो । यो नयाँ पार्टी निर्माणका लागि विद्रोह हो । तर, हामीले सही वैचारिक र राजनीतिक कार्यदिशा लिनुपर्छ । प्राविधिक कुराले विद्रोह अघि बढ्दैन । यस्तो विद्रोह भइरहेको बेलामा दक्षिणपन्थी अवसरवाद विभिन्न किसिमका जालझेल, षडयन्त्र गरिरहेको हुन्छ । क्रान्तिकारी माक्र्सवाद विद्रोहको झण्डा लिएर अघि बढीरहेको हुन्छ ।

यस्तो बेलामा कहिलेकाहीँ अग्रपन्थी विश्लेषण र चिन्तन जन्मिने गर्छन् । हाम्रो पार्टीका स्थायी कमिटी सदस्यलाई मध्यपन्थले निकै नराम्ररी अल्झायो । मध्यपन्थ भनेको पनि अवसरवादकै अर्को रूप हो । त्यसले अन्तिम समयमा दक्षिणपन्थलाई सघाउँछ । तर, मध्यपन्थको आयु कहिले लामो हुँदैन, छोटो हुन्छ, अल्पायु हुन्छ, चाँडै परिणाम देखाउँछ । हाम्रो केन्द्रमा त्यसरी नै मध्यपन्थी जन्मियो र अन्त्य भयो ।

अब तपाई हामी देख्नेछौँ, राज्यमा, प्रदेशमा होस् वा जिल्लामा होस् । मध्यपन्थका विभिन्न बिउ देखा पर्नेछन् । हामीले दक्षिणपन्थ अवसरवादमाथि जति गहिरोले हमला गर्नेछौँ, जति गहिरोमा भण्डाफोर गर्नेछौँ, वैचारिक, सैद्धान्तिक, संगठनात्मक र दार्शनिक रूपले भण्डाफोर गर्नेछौँ, हामी त्यति नै क्रान्तिकारी माक्र्सवादलाई विकास गर्नेछौँ ।

कमरेडहरू, कहिले काहीँ मिराकल हुन्छ । वर्षदिन नपुग्दै एउटा विशाल पार्टीले आकार लिन सक्छ । तर, हामीसँग त्यो सशक्त, वैचारिक र राजनीतिक प्रवाह सृजना गर्ने त्यो स्पिरिट, एकता, कलेक्टिभनेस भयो भने हामीले ठूलो परिवर्तनको एउटा आँधी, हुरीलाई पर्खिरहेको अवस्थालाई महसुस गर्न सक्छौँ ।

आम कार्यकर्ताहरू केपी ओलीको दमन चक्रबाट, दक्षिणपन्थी अवसरवादबाट अत्यन्त पीडित छन् । मैले भन्दै आएको छु, राजनीतिक एकताले पार्टीगत एकता सम्भव हुँदैन । हामीले वैचारिक एकता, राजनीतिक एकता, सैद्धान्तिक एकता कायम गरेपछि मात्रै संगठनात्मक एकता कायम हुन सक्छ । पार्टीको वैचारिक क्रान्तिकारी दिशा नै निर्णायक कुरा हो । यसैले सबै कुराको निर्णय गर्छ ।

तपाईहरू अहिले डकुमेन्ट बनाइरहनुभएको छ । सबैभन्दा पहिला पार्टी दर्ता गरौँ । यो पार्टीको दर्ता गरेसँगै कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम सबै कुरालाई अद्यावधिक गरेर लानुपर्छ । हामीले जनवादी क्रान्ति पूरा गरिसक्यौँ । अब जबजको युग सिद्धियो । जबज अबको अवस्थामा पुँजीवादी सिद्धान्त हो । त्यसलाई कसैले पनि अनुशरण गर्न सक्दैन । जो समाजवादतर्फ जान चाहान्छ ।

अब हाम्रो प्रष्ट कार्यक्रम भनेको समाजवादमा रूपान्तरणको कार्यक्रम हो । युग अनुसारको बोली हामीले बोल्न सक्नुपर्छ । युग अनुसारको कार्यक्रम हामीले निर्धारण गरेर जानुपर्छ । त्यही हिसाबले हाम्रा कार्यक्रम अद्यावधिक गर्न हामी लाग्नुपर्छ । चाँडो भन्दा चाँडो प्रकाशनको आयोजना गराैँ । हाम्रो एउटा मुखपत्र चाहियो । हरेक दिन छाप्नुपर्छ । केपी ओलीको खण्डनमा सर्वोच्चको फैसलालाई एउटा पुस्तिकाका रूपमा छपाएर राष्ट्रव्यापी, आवश्यक परे अन्तर्राष्ट्रिय प्रवासी नेपालीको बीचमा पनि पुग्ने गरी हामीले छपाउनुपर्छ । सम्बन्धित निकायलाई छाप भन्नुपर्छ । त्यसो भयो भने सबै निकायमा यसलाई पठनपाठन गर्न सबैलाई यो बारेमा जानकारी गराउनुपर्छ ।

हामी पहिलो भन्दा धेरै घनिष्ठ रूपले एकताबद्ध भएर अनुशासित भएर सामुहिक निर्णयको आधारमा अघि बढ्ने अभ्यासलाई अगाडि बढाउनुपर्छ । पार्टी नेकपा एमाले भित्र भ्रममा बसेका हजारौ, लाखौँ साथीलाई सही बाटोमा ल्याउन सकौँ । एउटा क्रान्तिकारीपूर्ण रूपमा हामीले यो एकीकृत समाजवादी पार्टीलाई स्थापित गरेर जान सक्नुपर्छ । हाम्रो सामु ठूलो चुनौती छ तर, हाम्रो सामु सम्भावना पनि छ । त्यो सम्भावनालाई ध्यानमा राखेर हामी अगाडि बढौँ । हाम्रो सफलता सुनिश्चित छ । बाटो कठिनाई पूर्ण छ । काँडाहरू छन्, भीरपाखा छन् । हामी भीरपाखामा जन्मिएकालाई यसले कुनै असर गदैन ।

सबैलाई हार्दिक अभिवादन । लाल सलाम

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति