काठमाडौं, ८ भदौ । अफगानिस्तान कब्जा गरेका विद्रोही समूह तालिबानका नेताहरूलाई भेट्न अमेरिकाले गुप्तचर निकाय सिआइएका प्रमुखलाई काबुल पठाएको खुलाशा भएके छ । द वासिङ्टन पोष्टका अनुसार सिआइएका निर्देशक विलियम जे बर्न्सले सोमबार काबुलमा तालिबानका उच्च नेता मुल्लाह अब्दुल घानी बारादार भेटेका छन्।
स्रोतलाई उल्लेख गर्दै पोष्टले उनीहरूबीच गोप्य भेटवार्ता भएको अन्तराष्टिय संचारमाध्यले जनाएका छन् । अमेरिकाले अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट फिर्ता लैजाने भनेको थियो। तर तालिबानहरूले सोचेभन्दा निकै चाँडो काबुल कब्जा गरेपछि राष्ट्रपति जो बाइडेनमाथि अफगानिस्तानबाट सबै अमेरिकी र अमेरिकालाई सहयोग गरेका अफगानहरूलाई उद्धार गर्न त्यसपछि पनि सैनिक राख्न दबाब परिरहेको छ। बाइडेनले पनि अगस्ट ३१ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहन सक्ने बताएका छन्। अहिले काबुलस्थित हमिद कारजाई विमानस्थल अमेरिकी र नाटो सैनिकको नियन्त्रणमा छ।
तालिबानले अगस्टपछि अमेरिकी सैनिकले अफगानिस्तान छोड्नु पर्ने, नछोडे त्यसलाई अतिक्रमण ठानेर व्यवहार गरिने बताएको छ। इतिहासकै सबैभन्दा कठिन भनिएको उद्धार गरिरहेको अमेरिकाले तालिबान नेताहरूसँग कुरा गर्न आफ्ना अनुभवी गुप्तचरलाई काबुल पठाएको हो। कुनै बेलामा सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका हुन्।
अफगानिस्तानमा अमेरिकासमर्थित सरकारलाई हटाएर विद्रोही समूह तालिबानले राजधानी काबुलमा कब्जा जमाएको पनि हप्ता दिन बितिसकेको छ। तालिबान स्वयंदेखि संसारका कसैलाई पनि यति छिटै तालिबानहरूले काबुल कब्जा गर्छन् भन्ने कल्पना थिएन। अमेरिकाले आफ्ना दूतावासका कर्मचारीको उद्धार गर्न नपाउँदै तालिबान काबुल पसेपछि अहिले काबुलको जनजीवन प्रभावित भएको छ।
प्रतिक्रिया