काठमाडौं, ८ भदौ । लुम्बिनी प्रदेशमा प्रदेश सरकारको आकार बढ्ने भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी र जसपामा सांसदहरू मन्त्रीका आकाङ्क्षी धेरै भएपछि लुम्बिनी सरकारले मन्त्रालय बढाउने तयारी गरेको हो ।
कुलप्रसाद केसीले गत साउन २८ गते नियुक्त भएसँगै मन्त्रालय बढाए भए गठबन्धन दलहरूमा पनि भागबण्डा पुराउने आन्तरिक योजना बनाएका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्री मण्डल विस्तार तयारीमा रहेका छन् । यसअघि साउन २८ मै मन्त्री बनेकाहरूको लागि पनि मन्त्रालय टुङ्गाउनको सकस भएपछि बिना विभागीय मन्त्रीको रूपमा राखिएको छ। पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सत्ता जोगाउनकै लागि गत वैशाख १९ मा मन्त्रालय फुटाएर १० पु–याएका थिए ।
त्यसमा पनि अझै थप गर्ने तयारी भएको गठबन्धनका एक प्रदेश सभा सदस्यले बताए । उनले कानुनले मिल्ने अधिकार प्रयोग गरेर मन्त्रालयहरू विभाजन गर्ने विषय सरकारको अधिकार भएकोले त्यसलाई अन्यथा मान्न नहुने बताए । केसीको नेतृत्वमा हाल ७ सदस्य मन्त्रिमण्डल रहेको छ । अब विस्तार हुने मन्त्रिपरिषद्मा लागि माओवादीबाट ४, नेपाली काँग्रेसबाट ४ जसपाबाट ३ जनामन्त्री बन्ने छन् ।
एक जना स्वतन्त्र अजय बहादुर शाही पनि विना विभागीय मन्त्री बनिसकेका छन् । यस्तै नेपाली काँग्रेस र माओवादी १–१ जना राज्यमन्त्री बन्ने छन् । यसरी मुख्यमन्त्रीसहित १५ सदस्य मन्त्री मण्डल तयार एक स्रोतले जनाएको छ ।
आलोपालोको सहमति
गठबन्धन दलहरूबीच आलोपालो सरकार चलाउने भद्र सहमति भएको छ । लुम्बिनी प्रदेशमा हाल रहेका गठबन्धन दलहरूबीच भएको भद्र सहमति अनुसार जनयुद्ध दिवस फागुनमा मनाएपछि नेपाली काँग्रेसको मुख्यमन्त्री बन्ने सहमति भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले दाबी गरे । उनले आधा आधा सरकार चलाउने कुनै लिखित सम्झौता नभए पनि एउटा भद्र सहमति भएको जिकिर गरे ।
प्रतिक्रिया