काठमाडौं, ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढेकोले अब एकताको भ्रममा नपर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो अपिल गरेका छन् ।
उनले लेखेका छन्–‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै‘वार्ता र सहमती’का भ्रमपूर्ण समाचार सार्वजनिक भएका छन्।अतस्यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति,न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपिल गर्दछु ।’

माधव नेपालद्वारा सांसद र केन्द्रीय सदस्यको दुई रात चन्द्रागिरीमा व्यवस्थापन
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सोमबार र मङ्गलबार दुई दिन दुई रात चन्द्रागिरी रिसोर्ट बुक गराएका छन् । उनले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका केन्द्रीय सदस्य र सांसदहरुको व्यवस्थापनका लागि चन्द्रागिरी रिसोर्ट बुक गराएका हुन् ।
हस्ताक्षरकर्ता सांसद र केन्द्रीय सदस्य गरी एक सयजनाका लागि कोठा बुक गरिएको बुझिएको छ । त्यहाँ माधव नेपाल स्वयं पुगेका छन् ।
एमाले विभाजन गरेपछि नयाँ बनेको दल दर्ताको निवेदनमा हस्ताक्षरकर्ताहरुको बुधबार सनाखत हुनेछ । त्यसअघि नै नेपालले हस्ताक्षरकर्ताहरुलाई एमालेमा फर्कन नदिन व्यवस्थापनको रणनीति लिएको बुझिएको छ ।
भीम रावललगायत प्रभावशाली नेताहरु एमालेमै रहने निर्णयमा पुगेपछि माधव नेपालले सांसद र केन्द्रीय सदस्यको व्यवस्थापनको कदम चालेका हुन् । एमाले अध्यक्ष केपी शर्मा आली पक्षधर नेताहरुले हस्ताक्षरकर्ताहरुलाई फिर्ता लाने प्रयास गरिरहँदा चन्द्रागिरीमा व्यवस्थापन गरेका हुन् ।
प्रतिक्रिया