कांग्रेसका जिल्ला सभापतिले पार्टी कार्यालय सानेपामा धर्ना दिने

काठमाडौँ, ७ भदौ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका जिल्ला सभापतिहरुले धर्ना दिने भएका छन् । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै जिल्ला सभापतिहरुले मंगलबार पार्टी कार्यालयमा धर्ना दिने भएका हुन् ।

दुई दिनअघि पौडेलनिकट जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई इमेलमार्फत् दुई दिनभित्र क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गरेका थिए । क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा केन्द्रबाटै नाम थपघट भइरहेको आशंका गर्दै पौडेलनिकट जिल्ला सभापतिहरुले सदस्यता सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

‘प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्,’ पौडले निकट एक सभापतिले भने, ‘सदस्यता सार्वजनिक गर्न दवाव दिन धर्नामा बस्न लागेका हौं ।’

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सूचीमा पार्टीका विभिन्न तहले गरेको पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम छानबिन गरेर अन्तिम रुप दिन माग गरेका छन् । साथै सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने उनीहरुको माग छ ।कांग्रेसले क्रियाशील सदस्यतालाई टुंगो लगाउन सकेको छैन । कांग्रेसमा बारा, सप्तरीलगायत विभिन्न १३ निर्वाचन क्षेत्रमा देखिएको सदस्यता विवाद टुंग्याउन सकस छ ।

सदस्यता विवाद सुल्झाउन कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको थियो ।तीन नेता सम्मिलित कार्यदल दैनिक छलफलमा रहेपनि सदस्यता विवाद टुंगिन सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति