सांस्कृतिक समृद्धिका लागि चाडपर्वको महत्वः मुख्यमन्त्री पोखरेल


पोखरा, ६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताए । पवित्र पर्व जनैपूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले धर्म, संस्कृति र परम्परा जस्ता अमूल्य निधिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताएका छन् ।
सन्देशमा भनिएको छ, “विविध धर्म संस्कृतिको धनी हाम्रो मुलुक धार्मिक सहिष्णुताको अनुकरणीय नमूना हो । एकै दिन पर्ने पर्वलाई समुदाय विशेषअनुसार फरक तरिकाले मनाइनु पनि धार्मिक सहिष्णुताकै सबैभन्दा दरिलो उदाहरण हो ।” धर्मसँग जोडिएर कुनै पनि चाड विशेषरूपले मनाउने गरिए पनि ती पर्वसँग वैज्ञानिक तर्क पनि जोडिएको मुख्यमन्त्री पोखरेलले बताए ।


जनै पूर्णिमाका दिन तागाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नाका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ । श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गर्छन् । नेवारी समुदायले यो दिनलाई ‘गुँपुन्ही’ का रूपमा मनाउने परम्परा छ । यो दिनमा नौ थरी गेडागुडी मिसाएको क्वाँटी खाने र भ्यागुताको पूजा गरिन्छ । मुख्यमन्त्री पोखरेलले कोभिड–१९ को त्रास कायमै रहेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सजग्ता अपनाएर पर्व मनाउनसमेत अनुरोध गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति