घुमुवा प्रहरीले पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेकोमा महासंघको आपत्ति

काठमाडौँ, ६ भदौ । 


लागूऔषध ओसारपोसारमा संलग्‍न भएको आरोप लगाउँदै पक्राउ गरिएका रौतहटका पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागूऔषध राखेर फसाउन खोजेको खुलेको छ ।पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्‍न खटिएकाहरुसित जिल्ला प्रहरीका घुमुवाहरु साथै रहेको खुलेको हो । घटनाको पत्रकार महासंघ जिल्ला र केन्द्रले भत्सर्ना गरेको छ । घटनामा संलग्न घुमुवा प्रहरीलाई प्रदेश २ को कार्यलयले छानबिनका लागि तानेको छ ।

रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागूपदार्थ राखेर पक्राउ गर्न लगाएको खुलेको हो । उनको मोटरसाइकलमा लागूऔषध ट्याबलेट राख्ने कार्य गर्दै गर्दाको सीसीटीभी फुटेजमा देखिन्छ । फुटेजमा पत्रकार मजिबुल्लाह गत साउन ३२ गते सदरमुकाम गौरस्थित होटल ग्रिन सिग्नलमा खाजा खान बसेको बेला बाहिर पार्किङ गरी राखेको मोटरसाइकलको तल १ सय ५० पिस प्रतिबन्धित नाइट्रोभेट लागूऔषध बाँधेको देखिन्छ ।घुमुवाकै योजनामा नाटकीय ढंगले पक्राउ गरिएका पत्रकार मजिबुल्लाह लागूऔषधको कारोबारमा संलग्न भनेर प्रहरीले प्रचार गरेको थियो ।

मोजिबुल्लाको साथै मोटरसाइकल चलाउने सहकर्मी राजपुर नगरपालिका-७ का शेख गुलाबलाई समेत पक्राउ गरेर हिरासतमा राखेको छ । घटनापछि जिल्लाभरिका पत्रकार भेला भएर सीसीटीभी फुटेज हेरेका थिए ।प्रदेश–२ का डीआईजी उमेश रंजितकारले घटना रहस्यमय भएकोले यथार्थ छानबिन गरी सार्वजनिक गरिने बताए । ‘घटनामा संलग्न भनिएका सादा पोसाकका प्रहरीलाई प्रदेश तानेर सोधपुछ र छानबिन सुरु गरेको छु,’ उनले भने, ‘यस्तो गम्भीर अपराधको घटनामा जोसुकै भएपनि कानुनको दायरामा ल्याउँछौं ।’ प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साह लगायतलाई डीआईजी रञ्जितकारले शनिबार राति नै तानेका छन् । यी घुमुवा प्रहरी रौतहटमा बदनाम थिए । जिल्ला प्रहरीले सूचना संकलन भनेर यिनीहरुलाई राखेको थियो । जिल्ला प्रहरीका डीएसपी नारायण चिमरियाले घटनाको गम्भीर रुपमा छानबिन भइरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति