अपहरणमा परेका दुई युवकलाई भारतबाट उद्दार

काठमाडौँ, ६ भदौ । अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्दार गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्दार गरेर नेपाल ल्याएको जानकारी दिएको छ। मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ स्वागत टोल बस्ने २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर अपहणमा परेका थिए।

उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए। अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा अपरेसन सुरु गरेको थियो। भारतीय प्रहरीको सहयोगमा शनिवार राति भारतको बिहार राज्यको मोतिहारीबाट उनीहरुलाई अपहरण मुक्त गरिएको हो।भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको छ।

अपहरणमा परेका दुवैजनालाई आज बिहान नेपाल ल्याएर आफन्तको जिम्मा लगाइएको छ। अपहरण मुक्त भएका दुवै युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ।अपहरण गर्नेहरु पनि चिनजानेकै हुन्। अपहरण भएको दिन उनीहरु सँगै बसेर कुराकानी भएको देखिएको छ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सोमेन्द्र सिंह राठौंरले भने।

अपहरणमा संलग्न तीन जना युवक भारतबाट ड्रग सहित नेपाल आएका थिए। अपहरण भएको दिन उनीहरुले सँगै बसेर ड्रग्स सेवन गरेको अनुसन्धानमा देखिएको छ। अपहरणमा परेका दुई युवाले आफूलाई पथलैया छोड्दिन आग्रह गरेका थिए।तर उनीहरुले पथलैयाबाट वीरगंज हुँदै भारतको बिहार पुर्‍याएका थिए। भारत पुगेपछि उनीहरुले ५ लाख भारतीय रुपैयाँ मागेको खुलेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति