अफगानिस्तानमा आईएसको आक्रमण हुनसक्छ भन्दै अमेरिकाले जारी गर्यो सुरक्षा अलर्ट

काठमाडौं, ६ भदौ । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो ।

आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले पनि आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन । तर अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई ‘ढोका बाहिर हुन सक्ने सुरक्षा खतरा’बाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको बीबीसीले जनाएको छ ।

अमेरिकी अधिकारीहरुले अफगानिस्तानको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।राजधानी काबुलस्थित विमानस्थल बाहिर आतंक जारी रहेका बेला अमेरिकाले सम्भावित आक्रमणको खतराबारे जानकारी गराएको हो । विमानस्थलबाहिर एक जर्मन नागरिकमाथि गोली प्रहार भएको थियो । अमेरिकाले विमानस्थलबाहिरको भिडभाडमा नजान भनेको छ ।

एक हप्ता अगाडि तालिबान विद्रोहीले राजधानी काबुलसहित पूरै अफगानिस्तानमा कब्जा जमाएका थिए । त्यसलगत्तै काबुल छाड्नेहरुको भिड विमानस्थल वरपर देखिन्छ । विमानस्थलको भित्री परिसर भने अमेरिकी सेनाको नियन्त्रणमा छ ।शनिबार एक प्रेस कन्फ्रेन्सको क्रममा अमेरिकी रक्षा विभागले एयरपोर्टबाट हालसम्म १७ हजार मानिसलाई उद्धार गरिसकेको र तीमध्ये २ हजार ५ सय अमेरिकी नागरिक पनि रहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति