माधवकुमार नेपालको निर्णयमा साथ नदिएका एमालेका नेताहरुको बैठक बस्दै

काठमाडौं, ४ भदौ । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको आज बैठक बस्दैछ। आठ जना स्थायी कमिटी सदस्य र केही केन्द्रीय सदस्यहरुको बैठक महाराजगन्जमा बस्न लागेको हो ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै माधवकुमार नेपालले एमालेमा विद्रोहको घोषणा गर्दा उनलाई साथ नदिएका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनको माग गरेका हुन् ।

उनीहरुले पार्टी अध्यक्षले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, १४ सांसदमाथि भएको कारवाही फिर्ता गर्नुपर्ने र नेता नेपालले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्नुपर्ने माग गर्दै बिहीबार राति विज्ञप्ति समेत जारी गरेका थिए ।विद्रोहमा नेपाललाई साथ नदिएका यी नेताहरुले अध्यक्ष ओलीले सहमति पालना नगरे विकल्प खोज्ने यसअघिकै पूर्ववत चेतावनी फेरि पनि दोहोर्याएका छन् । हाल तेस्रो धार जस्तै देखिएका नेताहरुलेले आफ्नो समुह कसरी अघि बढ्ने भन्नेबारेमा रणनीति तय गर्न बैठक बस्न लागेका हुन् ।

स्थायी कमिटी सदस्यहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित पूर्व नेपाल पक्षमै रहेका २ दर्जन केन्द्रीय सदस्यहरु बैठकमा सहभागी हुने बताइएको छ । उनीहरुले अध्यक्ष ओलीले १० बुँदेको अक्षरशः पालना गर्न गत फागुन २८ गते यता गरेका सबै निर्णय खारेज नगरे विद्रोह गर्न बाध्य हुने चेतावनी पनि दिइरहेका छन् । ओलीले सहमति पालना गरे माधव नेपाललाई फेरि फर्काउन सकिने उनीहरुको बुझाइ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति