आयोगले भन्यो – एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता हुँदैन, नयाँ नाम ल्याउनु

काठमाडौं, ४ भदौ । निर्वाचन आयोगले नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक दर्ता गर्न नमिल्ने बताएको छ । एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने आयोगले जनाएको छ ।

आयोगले यी नाम पुराना पार्टीसंग मिल्ने भन्दै प्रस्तावित माधवकुमार महन्थ ठाकुरलाई अर्को नाम लिएर आयोगमा आउन आग्रह गरेको छ। आयोग स्रोतका अनुसार एमाले तर जसपा जोडिएकाले सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार ति नामहरू दिन नमिल्ने भएको हो।

आयोगमा गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने स्रोतले जनाएको छ । सर्वोच्च अदालतले फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर एमाले, माओवादी ब्युँताउदा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसंग मिल्ने भएमा त्यस्तो दल दर्ता हुन नसक्ने बताएको थियो। आयोग स्रोतका अनुसार नेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ । त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ । अब दुवै पार्टीका नेताहरूले नयाँ नाम दिएपछि दल दर्ताको प्रक्रिया अगाडी बढ्ने छ ।

यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली शुक्रबार फेरि निवेदन दिने तयारी छ । त्यसको अघिल्लो दिन एमाले समाजवादी नेता डा. विजय पौडेल आयोग पुगेका थिए । आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् । पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए ।

नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति