काठमाडौं, ४ भदौ । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ । उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ ।
उक्त कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो । तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ ।तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका सहयोगीहरूलाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ ९रिप्टो० नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो ।प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेका र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन् । तालिबानले गत आइतवार काबुल कब्जा गरेको थियो।
उसले विदेशी सेनाले देश छाडेपछि अफगानिस्तानभरि नियन्त्रण कायम गर्न थालेको थियो । उक्त विजयले उनीहरूलाई २० वर्षपछि पुनः अफगान शक्तिको केन्द्रमा ल्याइदिएको छ ।
२० वर्षअघि अमेरिकी नेतृत्वको फौजले उक्त समूहलाई सत्ताच्यूत गराइदिएको थियो ।पहिले शक्तिमा रहँदा तालिबानले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने र महिलाहरूलाई पढ्न तथा काम गर्न नदिनेजस्ता गतिविधि गरेको थियो । तर यसपटक काबुलमा नियन्त्रणपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुन अन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए ।तालिबानले आन्तरिक र बाह्य कुनै पनि शत्रु नचाहेको बताएको छ ।
त्यस्तै उसले विदेशी शक्ति र पूर्ववर्ती सरकारमा रहेर काम गरेका सबैलाई आममाफी दिने बताइसकेको छ । तर अन्तर्राष्ट्रिय शक्ति र कैयौँ अफगानहरू अहिले पनि तालिबानमाथि शङ्का गरिरहेका छन्।
प्रतिक्रिया