काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको छलफलपछि अर्थमन्त्रालय र मातहतको निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ।
आन्तरिक राजश्व विभाग, भन्सार विभाग प्रमुखसहित अर्थमन्त्रालयका महाशाखाहरुमा जिम्मेवारी हेरफेर गरिएको हो। आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी कांग्रेस निकट सहसचिव शोभाकान्त पौडेललाई दिईएको छ। उक्त विभागमा रहेका झक्कप्रसाद आचार्यलाई अर्थमन्त्रालय तानिएको छ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका नारायण प्रसाद सापकोटालाई भन्सार विभागको महानिर्देशकको रुपमा सरुवा गरिएको छ भने सो विभागका महानिर्देशक रहेका यामलाल भुसाललाई अर्थमन्त्रालयमा तानिएको छ।
यस्तै, अर्थमन्त्रालयमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी भुपाल बराललाई दिइएको छ। उनी यसअघि लगानी बोर्डमा कार्यरत थिए।
बजेट महाशाखामा कार्यरत सुमन दाहाल आर्थिक नीति तथा विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ। यो महाशाखामा रहेका राम प्रसाद घिमिरे सचिवमा बढुवा भएपछि महाशाखा प्रमुख पद रिक्त रहेको थियो। त्यस्तै अर्थमन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी केदार शर्मालाई दिइएको छ। अर्थमन्त्रालय तानिएका झक्क प्रसाद आचार्य र यमलाल भुसाललाई प्रदेश पठाउने सरकारको तयारी छ।
प्रतिक्रिया