काठमाडौं, ३ भदौ । माधव नेपालले एमाले विभाजन गरी नेकपा एमाले समाजवादी दल दर्ताका लागि २ भदौमा निर्वाचन आयोगमा दिएको निवेदन काम नलाग्ने भएको छ । नेपालले नयाँ दल दर्ताका लागि पुनः निवेदन दर्ता गर्नुपर्ने भएको छ ।
राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरी राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताका लागि निवेदन दिनुपर्ने भएको हो ।आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली संशोधन गरी कानुन मन्त्रालयमा पठाइसकेको छ । नियमावली राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताका लागि प्रक्रिया सुरु हुन्छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जतिसक्दो छिटो दर्ता प्रक्रिया टुंगो लगाउने बताए । थपलियाले भने, ‘संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि दल दर्ताको प्रक्रिया अगाडि बढ्छ, त्यसका लागि हिजोका निवेदनले काम गर्दैन, फेरि निवेदन दिनुपर्छ ।’ आयोग फास्ट ट्रयाकमा दल दर्ता गर्ने तयारीमा छ ।
नयाँ दल दर्ताका लागि प्रक्रिया पूरा गरी निवेदन दिएको खण्डमा सनाखतका लागि मात्रै समय लाग्नेछ । आयोगले सनाखतका लागि संसद सचिवालयसँगको समन्वयमा समय तोक्नेछ । सनाखत सकिएलगत्तै दल दर्ताको टुंगो दिनेछ ।
प्रतिक्रिया