अफगान महिलाको अधिकारप्रति श्चिमा देशहरुको चिन्ता

काठमाडौँ, ३ भदौ । अफगानिस्तानमा महिलाहरुको अधिकार कटौती हुने हो कि भनेर पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका हुन्। अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले बुधबार संयुक्तरूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरूको अधिकार कुण्ठित हुने आशंका व्यक्त गरेका छन्।

उनीहरूले महिला तथा बालिकाहरूको अधिकार सुनिश्चित गर्न पनि सरोकारवालाहरूलाई आग्रह गर्दै ध्यानाकर्षण गराएका छन्।

‘हामीलाई परिवर्तित अवस्थामा अफगानिस्तानका महिला र बालिकाहरूको अधिकार कुण्ठित होला कि भन्ने चिन्ता छ, त्यसतर्फ हामी विषेश ध्यानाकर्षण गराउन चाहन्छौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

उनीहरूले विषेश गरेर अफगानी महिलाहरूको शिक्षा, काम गर्ने स्वतन्त्रता, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकारलगायतका विषयमा चासो राखेका छन्।

अमेरिका, युरोपेली मुलुकसँगै अल्बानिया, अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चिली, कोलम्बिया, कोस्टारिका, इक्वेडर, होन्डुरस, ग्वाटेमाला, न्यूजिल्याण्ड, नर्वे, पाराग्वे, सेनेगल, स्विट्जरल्याण्डलगायतका देशहरूले अफगान महिलाहरूको अधिकारप्रति चिन्ता व्यक्त गरेका हुन्।

तालिबानहरूले चलाउन थालेको शासनमा महिलाहरूलाई गर्ने व्यवहार कस्तो हुनेछ, अधिकार र स्वतन्त्रताप्रतिको उनीहरूको दृष्टीकोण र व्यवहारका बारेमा आफूहरूले नजिकबाट नियालिरहेको पनि ती देशहरूले जनाएका छन्।

तालिबान विद्रोहीले अघिल्लो शासनकाल र युद्धकालमा महिला अधिकार र स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएका थिए। एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति