काठमाडौं, २ भदौ । माधवकुमार नेपालले नयाँ दल दर्ता गर्नका लागि प्रस्ताव गरेको चुनाव चिन्ह यसअघि नै निर्वाचनमा आयोगमा दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ । नेकपा एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि आयोगमा दिएको निवेदनमा खुला किताबलाई चुनाव चिन्हको रुपमा प्रस्ताव गरिएको छ ।
तर, सो चुनाव चिन्ह यसअघि नै अन्य पार्टीले लिइसकेको पाइएको हो । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीको पनि सोही चुनाव चिन्ह रहेको खुलेको छ । माधव नेपाल पक्ष नयाँ दल दर्ताको लागि निवेदन दिन आयोग पुग्दा सो पार्टीबाट बोधराज न्यौपाने आयोग पुगेर आपत्ति जनाएका छन् ।
उनले भने, ‘माधव नेपालहरु हाम्रो पार्टीमा आउनुहुन्छ भने स्वातगत छ तर अरुको पार्टीको चुनाव चिन्ह दिन पाइँदैन ।’माधव पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ।
नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो ।
प्रतिक्रिया