कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ , २९ साउन ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए। अन्य नौ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।

बिहीबारको बैठकमा प्रस्तुत अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन र निर्वाचन निर्देशिकामाथि छलफल भइरहेको छ । महाधिवेशनको नयाँ कार्यतालिका बैठकमा पेस नगरेको भन्दै केन्द्रीय सदस्यले विरोध जनाएका छन् ।

महाधिवेशनको कार्यपालिकामाथि छलफल गर्नुपर्नेमा अनौपचारिक जस्तो ढंगले बैठक सुरु गरेको उनीहरुले विरोध जनाएका हुन् । भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी ल्याइएको महाधिवेशनको कार्यतालिका प्रभावित भइसके पनि नयाँ कार्यतालिका बैठकमा पेस गरिएको छैन । महाधिवेशन सार्ने विषयमा सहमति भएपनि कहिले सार्ने भन्नेमा मतभेद देखिएपछि काँग्रेस केन्द्रीय समितिमा खुल्ला छलफल भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति