नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कार्यभार ग्रहण गर्दै काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउने बताएका छन्।
आज रत्नपार्कस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर पदबहाली गर्दै उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने टिप्पणी गरे।
यसअघि गर्न बाँकी रहेका कामहरु आफ्नो दोस्रो कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए। ‘कसैको पनि कुरा काट्ने र टिकाटिप्पणी गर्नेभन्दा पनि आफ्नो काम अगाडि बढाउनेबारे सोच्नेछौं’ उनले भने।
आफूसामू धेरै चुनौति रहेको उल्लेख गर्दै उनले प्राधिकरणको आवश्यकता, सरकारको जिम्मेवारी र आम सर्वसाधारणको अपेक्षाले गर्दा ती चुनौतिको जोखिम लिएको टिप्पणी गरे। सरकारको कार्यायोजनाअनुसार नेपालको उर्जा क्षेत्रलाई आफूले नयाँ ‘हाइट’ दिने उनले प्रतिवद्धता जनाए।
प्राधिकरणले जनताका गुनासो सुनेर दिने सेवालाई अझ राम्रो बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, शहरी क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउन्डिङ गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।‘शहरलाई पोलरहित, ताररहित बनाउन सडक विभाग लगायत सबैसँग मिलेर कार्यान्वयनमा जानुपर्नेछ’ उनले भने। ट्रान्समिसन लाइनको अभावमा बिजुली खेर जाने अवस्था आउन नदिने उनले बताए।
बुटवल– गोरखपुर ट्रान्समिसन लाइन निर्माणका लागि मन्त्रिपरिषदबाट स्वीकृति भइ आएकोले त्यो काम तत्काल अघि बढाउने उनले प्रतिबद्धता जनाए। ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई व्यवहारिक रुप दिनका लागि अपर अरुण, चैनपुर सेती, तामाकोसी ५ जस्ता आयोजना छनौट गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए।निजी क्षेत्रसँग गरिने पिपिईका सम्वन्धमा पनि नयाँ मोडलबाट अघि बढाइने उनले बताए। १–२ वर्षभित्र सबै क्षेत्रमा बिजुली पुर्याउन पहल गरिने उनले बताए।बिजुली उत्पादन मात्रै नभई खपत पनि सँगै बढाउँदै जानुपर्ने भन्दै उनले भारत र बंगलादेशसँग बिजुली निर्यातका लागि पहल गर्नैपर्ने आवश्यकता औंल्याए।साथै उनले आफूले लिएका जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्न सबै कर्मचारीहरुलाई आग्रह गरे। यसअघि प्राधिकरणका कर्मचारीहरुले आफूलाई गरेको सहयोगको पनि उनले तारिफ गरे। पहिलो कार्याकाल समाप्त भएको ११ महिनापछि शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई प्राधिकरणमा ल्याएको हो।
प्रतिक्रिया