क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको बैधानिकतालाई धरापमा पार्ने खोजे – वरिष्ठ पौडेल

काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो ।

तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको बैैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको वरिष्ठ नेता पौडेलले बताए । उनले त्यसका लागि पार्टी नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । वरिष्ठ नेता पौडेलले भने , ‘हाम्रो धारणा र सोचाईको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको बैधानिकतालाई जोगाउन सकिन्छ ।

त्यसका लागि हामी सबैले इमान्दारपूर्वक प्रयास गर्नु पर्छ ।’ बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता सम्बन्धि विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ । वरिष्ठ नेता पौडेलले सकिने ठाउँमा भने क्रियाशील सदस्यको विवाद समाधानका लागि २ दिन सम्मको समय लिन सकिने आफू पक्षको धारणा भएको पनि बताए । क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको बैधानिकतालाई धरापमा पार्न नहुने पौैडेल पक्षको दावी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति